अध्यादेशबारे झलनाथ खनालले भने, नियत पनि गलत, तरिका पनि गलत छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक कुनै निर्णय नगरी टुङ्गिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार दल विभाजन र संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको आकस्मिक सचिवालय बैठक बोलाइएको थियो ।

अध्यादेशले नेकपा फुट्नेसम्मको तरंग पैदा भएपछि सचिवालयका सदस्यहरुले बैठकमा के धारणा राखेका थिए भनेर बैठकमा सहभागी एक नेतालाई सोधेका थियौं । उनीसँग गरेको कुराकानीमा आधारति :

सचिवालय बैठकमा कसले के भने ?

केपी शर्मा ओली –अध्यादेश हाम्रो पार्टीको आन्तरिक जीवन लक्षित छैन । यो अन्य पार्टीको अवस्था र अन्तरविरोध लक्षित हो । संबैधानिक परिषदहरुमा नियुक्तिहरु अड्कियो । गाँठो फुकाउनु पर्ने भएर ल्याइएको हो । आंशकित नहुनुहोला ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ –अध्यादेश पार्टीमा छलफल नगरी र थाहै नपाउने गरी आयो । पार्टीलाई र नेताहरुलाई नै गुमराहमा राख्ने काम भयो । कोरोनासँग लड्नुपर्ने जटिल अवस्थामा आएको यो अध्यादेश औचित्य छैन । यो फिर्ता लिनुपर्छ । यो फुट्ने र फुटाउने बेला होइन । जुट्ने र जुटाउने बेला हो ।

माधव कुमार नेपाल –पार्टीमा छलफल नगरी ल्याउने कुरा राम्रो भएन । पार्टीमा मनखुशी हुन थाल्यो । अध्यादेश छलफल गरेर ल्याउनुपथ्र्यो । बलमिच्याइ गर्न थालियो । तर जारी भईसकेकोले यसमाथि आज छलफलको औचित्य हुँदैन । अब पार्टी र सरकारबारे गम्भिर छलफल गर्नुपर्छ ।

झलनाथ खनाल –अध्यादेश सम्पुर्णरुपमा गलत छ । यो फिर्ता लिनुपर्छ । नियत पनि गलत छ, तरिका पनि गलत छ । खारेज गर्नुपर्छ । यसले एकतालाई सुदृढ गर्दैन । विघठन स्विकार्य छैन ।

वामदेव गौतम –आन्तरिक पार्टी लक्षित होइन भने अध्यादेश ठिकै छ । तर अर्का अध्यक्ष तथा पार्टीसँग छलफल गरेर मात्रै ल्याउनुपथ्र्यो । प्रक्रिया मिलेन ।

नारायणकाजी श्रेष्ठ –अध्यादेश गलत छ । नियत गलत छ । उदेश्य गलत छ । सम्पूर्णरुपमा गलत छ । खारेज गर्न माग गर्दछु ।

राम बहादुर थापा – अध्यादेश आन्तरिक पार्टी लक्षित छैन भने ठिकै छ । तर दुई अध्यक्षबिच सल्लाहा नभइकन ल्याउनु हुँदैनथ्यो ।

इश्वर पोखरेल –अध्यादेश हाम्रो पार्टी लक्षित होइन । अरु पार्टी लक्षित भएकोले ठिक छ । बहस जरुरी छैन ।

विष्णु पौडेल –अध्यादेश ठिक छ । पार्टी र सरकारलाई यसले झन मजबुत बनाउँछ । तर पार्टीभित्र र नेताहरुबिच अलि सल्लाहा भएको भए राम्रो हुन्थ्यो । खबरडबलीमा समाचार छ ।