४ बैशाख ०७७, तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका २, न्यू जेनेरेशन युथ क्लबका अध्यक्ष शंकर रानाभाट ‘सनिस’ले सरकारलाई विद्युतीय प्रविधिको उपयोग गरेर बन्दाबन्दीमा पठनपाठन गर्न, गराउन सुझाएका छन् ।
कोरोना भाइरस (कोभिड–१९)का कारण देश नै लकडाउन भएपछि शैक्षिक संस्थाहरु बन्द रहेको र नयाँ शैक्षिक सत्र यही बैशाख २ गतेदेखि सुरू भएपछि विद्यार्थीको शैक्षिक भविष्य अन्यौल रहेको भन्दै उनले यस्तो बताएका हुन् ।
सरकारले विद्युतीय प्रविधिको उपयोग गरेर बन्दाबन्दीमा पठनपाठन गर्ने, गराउने हो भने एफ.एम. रेडियो, टेलिभिजन, अनलाइन साथै सामाजिक सञ्जालको प्रयोग गर्न सक्ने उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँका युवा समेत रहेका रानाभाटले भने, “विद्यार्थीको सिकाइलाई निरन्तरता दिन चाहने हो भने सरकारले प्रविधिको उच्च प्रयोग गर्न सक्नु पर्दछ ।”
यस बन्दाबन्दीलाई कम्युनिष्ट सरकारले उद्योगको रुपमा मौलाइरहेको निजी स्कुल, कलेजको स्थानमा सरकारी पठनपाठनको महत्व झल्किने गरी अवसरका रुपमा काम गर्न सक्नुपर्नेमा उनले विशेष जोड दिए ।
“सरकारी पठनपाठनको महत्व झल्किने गरी सरकारले बन्दाबन्दीलाई एउटा अवसरका रुपमा उपयोग गर्न सक्नुपर्छ,” उनले भने, “कम्युनिष्ट सरकारले उद्योगको रुपमा खुलेका र मौलाइरहेका निजी स्कुल, कलेजहरुप्रति मोह देखाउनु हुँदैन् ।”
यसैबीच शैक्षिक संस्थाहरु कोरोना भाइरस (कोभिड–१९)का कारण केही समय बन्द हुने देखिएपछि तनहुँको एक विद्यालयले सामाजिक सञ्जाल प्रयोग गरेर पढाउन सुरु गरेको छ ।
सरकारले जारी गरेको बन्दाबन्दी बैशाख १५ सम्म लम्बिएसँगै तनहुँस्थित खैरैनी मा.वि. खैरेनीटारका प्रधानाध्यापक केशवराज घिमिरेले प्रविधिबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिन थालिएको बताए ।
प्रधानाध्यापक घिमिरेले भने, “फेसबुकबाट लाइभ गरेर विद्यार्थीलाई पठनपाठन गराउन थालिएको छ ।”
कक्षा सुरु हुनुअघि विद्यार्थीलाई सूचना दिएर सामाजिक सञ्जालबाटै पढाउन थालिएको भन्दै उनले बन्दाबन्दीमा सिकाइका लागि यस्तो विकल्प खोजिएको र विद्यार्थीहरु पनि लाभान्वित भएको बताए ।