२० चैत ०७६, काठमाडौं । अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरू र श्रमिकहरुलाई हेर्ने सरकारी दृष्टि विभेदपूर्ण भएको भन्दै अखिल नेपाल ट्रेड युनियन महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै महासंघले सरकारलाई सरसफाई क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि आधारभूत स्वास्थ्य सुरक्षा, बिमा सुविधा लगायत व्यक्तिगत स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गर्न ध्यानाकर्षण गराएको हो ।
महासंघका अध्यक्ष जगत सिम्खडाद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सिङ्ग कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको तर स्वास्थ्य क्षेत्रमै अति जोखिमपूर्ण कार्य गर्ने सरसफाई मजदुरहरुका सवालमा सरकार मौन बसेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “हालै सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सिङ्ग कर्मचारीहरुलाई सुरु तलबको ७५ प्रतिशत, उनीहरुका सहयोगमा खटिने जनशक्तिलाई ५० प्रतिशत र अन्य जनशक्तिलाई २५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । तर, स्वास्थ्य क्षेत्रमै अति जोखिमपूर्ण कार्य गर्ने सरसफाई मजदुरहरु जसले तिनै संक्रमित फोहोरमैलामा दैनिक कार्य गरिरहेका छन्; उनीहरुका व्यक्तिगत स्वास्थ्य सुरक्षा र बिमाका सवालमा भने सरकार मौन बसेको देखिन्छ ।”
यसैगरी नेपाल–भारत सीमा नाकामा अलपत्र परेका श्रमजीवी मजदुरहरुको तत्कालै उद्दार तथा व्यवस्थापन गर्न, गराउन सरकारको ध्यानाकर्षण गराउँदै महासंघको प्रेस वक्तव्यमा बिपन्न परिवार र दैनिक ज्यालादारी श्रमिकहरूका लागि स्थानीय तहमार्फत् राहत वितरण सुरु गरिएकोमा सरकारलाई धन्यवाद समेत व्यक्त गरिएको छ ।
प्रेस वक्तव्यको पूर्णपाठ :
सरसफाई मजदुरहरुलाई सरकारले विशेष व्यवस्था गर्नुपर्ने
यसैबीच महासंघका सचिवालय सदस्य समेत रहेकी धनु दाहालले सरसफाई क्षेत्रमा कार्यरत मजदुरहरुलाई कतिपय अस्पतालले ठेकेदारमार्फत् आएको भन्दै सामान्य माक्स र ग्लोब्स समेत उपलब्ध नगराएको भन्दै सरकारले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।
स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण पाटो सरसफाई रहेको भन्दै दाहालले अस्पतालमा मात्रै नभएर सबै क्षेत्रमा सरसफाई गर्न सरसफाई मजदुर चाहिने तर सरसफाई गर्ने श्रमिकहरुको स्वास्थ्य सुरक्षा र जोखिमबारे ख्यालै नगर्ने प्रवृत्तिले सरसफाई मजदुरहरु प्रताडित बनेको बताइन् ।