विश्वविद्यालयले नयाँ ज्ञान निर्माणमा जोड दिनुपर्छ – शिक्षामन्त्री पोखरेल

सुनिल खड्का/ ६ फागुन ०७६, काठमाडौं । शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वबिद्यालयले नयाँ ज्ञान निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।

बुधबार राजधानीको बानेश्वर बहुमुखी क्याम्पसको २९औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘विगतको ज्ञान हस्तान्तरण गर्ने विश्वबिद्यालय शिक्षाबाट माथि उठेर विश्वबिद्यालयहरुले अब नयाँ ज्ञान निर्माणमा जोड दिनुपर्दछ’ मन्त्री पोखरेल भने ।

उनले युगमा आएको परिवर्तनलाई आत्मसात गर्दै नवप्रवर्तन र अनुसन्धानमा जोड दिनुपर्ने भन्दै विश्वबिद्यालयले राष्ट्र हाँक्न सक्ने जनशक्ति उत्पादन गरे समृद्धिको यात्रा सफल हुने बताए ।

कार्यक्रममा कामको संसारसँग पढाइको संसार मेल खानुपर्नेमा जोड दिंदै मन्त्री पोखरेलले शिक्षाको राष्ट्रिय नीति ल्याइएको दाबी समेत गरे ।
यसैगरी कार्यक्रममा अनेरास्ववियूका नेता विजय गौतमले २१औं शताब्दीका विद्यार्थीलाई १७÷१८ औं शताब्दीको पाठ्यक्रम र शिक्षण विधिले अपेक्षित उपलब्धि हासिल हुन नसक्ने बताएका थिए ।

यस्तै नेबिसंघका महामन्त्री बलदेब तिमल्सिनाले शिक्षामा राज्यले लगानी बढाउनु पर्नेमा जोड दिए भने क्याम्पस प्रमुख घमानसिं बस्नेतले बानेश्वर क्याम्पसले सस्तो शुल्कमा स्तरीय शिक्षा दिइरहेको दाबी गरे ।

उक्त कार्यक्रममा प्रदेश सांसदहरु गणेश दुलाल र लक्ष्मण लम्साल, सभासद तारानारायण श्रेष्ठ, विद्यार्थी नेताहरु रबिन बस्नेत, श्याम रोका, नवीन शाही लगायतको उपस्थिति रहेको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिबोल भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा उत्कृष्ट शिक्षक, विद्यार्थीलाई तथा अतिरिक्त क्रियाकलापका बिजेतालाई सम्मान गरिएको थियो ।