मुलुकको आर्थिक सूचकहरू स्वस्थकर रहेको अर्थमन्त्रीको भनाई

२ फागुन ०७६, बिराटनगर । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको आर्थिक सूचकहरू स्वस्थकर रहेको बताएका छन् ।

‘बिराट एक्स्पो २०७६’ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको शुक्रबार बिराटनगरमा उद्घाटन गदै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

सरकारले विकासको लागि गर्नुपर्ने कामको सुरुवाती गरिसकेकाले निजी क्षेत्रलाई उत्साहित बनाउन अब सरकार लाग्ने उनले बताए ।
अर्थमन्त्रीले यस्तो बताइरहँदा दुई तिहाई नजिक बहुमतको सरकारको विकास आयोजना कार्यान्वयनका सवाल चालु आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समीक्षा देखिन्छ । सात महिनाको अवधिमा १८ प्रतिशत विकास खर्च गरेको सरकारलाई राष्ट्रिय गौरवका आयोजनाहरु बोझिला बनेको देखिन्छ ।

अर्थविद्हरुले दुईतिहाई नजिक बहुमत रहेको सरकारको विकास बजेट खर्च देखेर सरकारी घोषणामाथि प्रश्न उठाएका छन् ।

बुढीगण्डकी जलविद्युत आयोजना प्रगति १४ प्रतिशत

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको वित्तीय प्रगति अहिलेसम्म १४ प्रतिशत पुगेको छ । भौतिक प्रगति भने शून्य छ । दुई खर्ब ६० अर्बको आयोजना बनाउने जिम्मा दिइएको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपसँग लामो समयदेखि छलफल भएको छैन ।

पश्चिम सेती जलविद्युत आयोजनाको प्रगति शून्य

७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजनाको प्रगति शून्य छ । चिनियाँ कम्पनी थ्री गर्जेजले हात झिकेपछि लगानी बोर्डले पश्चिम सेती र अर्को जलाशययुक्त परियोजना ‘एसआर–६’ एउटै लगानीकर्तालाई दिने प्रस्ताव गरेको छ । यसमा इच्छा देखाएका दुई कम्पनी मध्ये एउटा अयोग्य ठहरिएको लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी बताएका छन् । यो आयोजनाको लागत अनुमान एक खर्ब ४७ अर्ब रुपैंया छ ।

माथिल्लो तामाकोसी आयोजना सन्तोषजनक छैन

दोलखामा निर्माणाधीन ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम नै सन्तोषजनक छैन । सुरुमा यसको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ थियो । अहिले आयोजनाको अनुमानित लागत ४९ अर्ब २९ करोड ५५ लाख र निर्माण अवधिको ब्याज १९ अर्ब ८४ करोडसहित ७२ अर्ब नाघ्ने संशोधित अनुमान छ ।

मध्य पहाडी लोकमार्ग भौतिक प्रगति असारसम्म ४८ प्रतिशत

आर्थिक वर्ष २०६४/०६५ बाट मध्य पहाडी लोकमार्ग निर्माण सुरु गर्दा ०७४/७५ मा सक्ने लक्ष्य थियो । तर यो आयोजनाको भौतिक प्रगति गत असारसम्म ४८ प्रतिशत मात्र थियो । एक वर्षअघि ४५ प्रतिशत काम भएको यो आयोजनामा यो वर्ष ३ प्रतिशत मात्र प्रगति भएको छ ।

हुलाकी राजमार्ग असारसम्म ४४ प्रतिशत काम

पूर्व–पश्चिम तराईमा यातायात सहज बनाउन आ.व. २०६५/०६६ मा सुरु भएको हुलाकी राजमार्गमा असारसम्म ४४ प्रतिशत काम भएको छ । २०७५ असारसम्म यस्तो प्रगति २५ प्रतिशत थियो । आव २०७४/०७५ मा सक्ने भनिएको यो आयोजनामा भारतीय लगानीको अन्योल हुँदा नेपाल सरकारले नै लगानीमा गर्न थालेको छ ।

पूर्व झापाको केचनालाई पश्चिम कञ्चनपुरको दोधारा चाँदनीसँग जोड्ने यो आयोजनाको सुरुको करिव ४७ अर्ब २४ करोड अनुमानित लागत बढेर ६५ अर्ब २० करोड पुगेको छ ।

काठमाडौं–निजगढ द्रुतमार्ग गत असारसम्म ८.५ प्रतिशत

सरकारले चार वर्षमा सक्ने गरी २०७४/०७५ मा नेपाली सेनालाई दिएको काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको गत असारसम्मको ८.५ प्रतिशत मात्र छ । ७२.५ किलोमिटर लामो यो परियोजनामा सुरुङ र पुलको ठेक्का लागेको छैन । यो परियोजनाको एक खर्ब ११ अर्ब अनुमानित लागत बढेर दुई खर्ब १३ अर्ब पुग्ने बताउन थालेको छ ।

यो सरकारले निकै महत्व दिएको रेल्वे तथा मेट्रो आयोजनाको अनुमानित लागत ७० अर्ब ६१ करोड रहेकोमा गत पुससम्म १५ अर्ब ५९ करोड खर्च भएको छ । आयोजनामा २० प्रतिशत भौतिक प्रगति भएको सरकारकै तथ्यांकले देखाउँछ ।

मेलम्ची खानेपानी ९५.१२ प्रतिशत

मेलम्ची खानेपानी ९५.१२ प्रतिशत काम सकिएको यो आयोजना आव २०७०/०७१ मा सक्ने गरी २०५५/०५६ मा शुरु भएको थियो । यो आयोजनामा २८ अर्ब १३ करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजनामा भएको ढिलाइकै कारण ३५ अर्ब ५४ करोड पुग्ने अनुमान छ ।
सिक्टा सिंचाई आयोजना नेपालमा लामो समयदेखि कार्यान्वयन हुन नसकेको आयोजना मध्ये एक हो ।

बबई सिंचाई आयोजना आव २०४५/०४६ मा शुरु

नेपालका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा पुरानो आयोजना हो बबई सिंचाई । यो आयोजना आव २०४५/०४६ मा शुरु भएको हो । बर्दिया जिल्लाको ३६ हजार हेक्टर जमिनमा बाह्रै महिना सिंचाई सुविधा पु-याउने लक्ष्यसहित यो आयोजना शुरु भएको थियो ।

रानी जमना सिंचाई आव २०७४/७५ मा सकिनु २०७५ चैत १५ मा पहिलो संशोधन 

सयवर्ष पुरानो कुलोलाई अत्याधुनिक नहरमा परिणत गर्ने उद्देश्यले रानी जमना सिंचाई आयोजना अगाडि बढेको हो । पहिलोपटक सरकारले यस आयोजनामा आव २०६७/०६८ मा बजेट राखेको थियो । आव २०७४/७५ मा सकिनुपर्ने यो आयोजनाको खरीद गुरुयोजना १५ चैत २०७५ पहिलो पटक संशोधन भएको थियो ।

भेरी बबई डाइभर्सन ३५ प्रतिशत भौतिक प्रगति

सुर्खेत, बर्दिया र बाँके जिल्लालाई समेटेर उर्जा, सिंचाई र जलाधार संरक्षणको काम गर्ने उद्देश्यले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना अगाडि बढेको थियो । आव २०६८/०६९ मा शुरु भएको यो आयोजनाको आव २०७४/७५ सम्म ३५ प्रतिशत भौतिक प्रगति थियो ।

पूर्वसम्भाब्यता अध्ययन आ.व. २०५१/०५२ : निजगढ विमानस्थलप्रति सरकार मौन
नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको महसुश गरेर आव २०५१/०५२ सालमै पूर्वसम्भाब्यता अध्ययन गरिएको निजगढ विमानस्थललाई अगाडि बढाउने हिम्मत अहिलेसम्म कुनै सरकारले गरेको छैन ।

गौतमबुद्ध विमानस्थल चौथो पटक तीन महिना ठेक्का थप

सन् २०१४ मा शुरु भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको काम डिसेम्बर २०१७ मा सकिनु पर्नेमा पछिल्लो पटक डिसेम्बर २०१९ मा सकिने लक्ष्य राखिएकोमा पनि पुरा नभएपछि चौथो पटक तीन महिना ठेक्का लम्बिएको छ ।

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सन् २०२१ सम्म पुरा गर्ने लक्ष्य छ ।