श्रम ऐन २०७४ को वरिपरि रहेर अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष जय कार्कीसँग हाकाहाकी सम्वाददाताले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश…
श्रम ऐन २०७४ आउँदा सरकार, व्यवसायी, ट्रेड युनियनकर्मी (तीनै पक्ष) खुशी थिए तर अहिले यही ऐन ट्रेड युनियनकर्मीलाई निल्नु न ओकेल्नु भएको हो ?
जतिबेला श्रम ऐन २०७४ ड्राफ्ट हुँदैथ्यो, हामी छलफलमा थियौँ । र, त्यतिबेला नै यस ऐनको दफा १४५ मजदुरको पक्षमा छैन् भनेका थियौं । परिवर्तन गर्नुपर्छ, संशोधन हुनुपर्छ भन्यौँ । यसैका कारण ट्रेड युनियनहरू बदनाम हुनसक्छ भनेर तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड कमरेडसँग पनि भनेका थियौँ । व्यवसायीहरूले मजदुरलाई जुनसुकै बेला फायर गर्न सक्ने र कुनै पनि बेला निष्काशन गर्न पाउने जुन दफा बन्यो, उक्त दफा राख्नै हुँदैन भन्यौं । हाम्रो संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले संशोधन पनि हाल्यो तर ऐन आउँदा संशोधनसहित आउँछ भनिएको थियो तर त्यसो भएन । यो ऐन आउँदा ट्रेड युनियनकर्मी, मजदुरहरू निराश भए तर सबैभन्दा खुशी त व्यवसायी, रोजगारदाताहरू भए ।
श्रम ऐन २०७४ आएको दुई वर्षपछि मात्रै तपाइँहरू बोल्न थाल्नुभएको छ, सुरुमै आवाज उठाउनु भएन नि !
योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले यी सबै कुरालाई प्रोटेक्सन गर्छ भन्ने कुरा त्यतिबेला बढी मुखरित भएर आयो । श्रम ऐन २०७४ मा हायर भने पनि, फायर भने पनि, निष्काशन भने पनि, बेरोजगार भने पनि सामाजिक सुरक्षा कोषले व्यहोर्छ भन्ने कुरा मुखरित भएर आएपछि व्यवसायीले रोजगारीबाट हटाएर के भो त ? सामाजिक सुरक्षाले व्यहोर्छ, बेरोजगार बस्नु पर्दैन, बेरोजगार भएका बेला सामाजिक सुरक्षाबाट तलब–भत्ता, सुविधा पाइन्छ भन्ने भ्रम रह्यो । अहिले सामाजिक सुरक्षा नै लागू भएको छैन् । त्यसको स्कीम लागू नै भएको छैन् । त्योे लागू गर्न कै लागि मजदुरहरू धमाधम कटौतीमा पर्न थालेका छन् । ठूला–ठूला कलकारखानाहरूबाट जस्तै चप्पल कारखाना, खजुरी, एभरेष्ट ग्यास, केही सिमेन्ट कारखानाका मजदुरहरू कटौती गर्न थालिएको छ । न्यूनतम् बेतन र सामुहिक सौदावाजीको छलफल हुन नपाउँदै ट्रेड युनियनका पदाधिकारी मजदुरहरू निष्काशनमा परेका छन् । श्रम ऐनविरुद्धमा व्यवसायीहरू जान थालेका छन् । ऐनमा जसले उद्योग खरिद गर्दछ, उसैको स्वामित्वमा त्यस उद्योगमा कार्यरत मजदुरहरू पनि स्वतः हुन्छ भन्ने कुरालाई पनि अटेर गरेर, श्रम ऐनमा भएको भन्दा पनि बढी दमन र निरंकुशताका साथ व्यवसायीहरू आइरहेका छन् । व्यवसायीहरू श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनको चरणमा नै भद्रगोल, अराजक र अशिष्ट बनेका छन् । मजदुरका लागि सबैभन्दा घातक श्रम ऐनको दफा १४५ र यसका उपदफाहरू साथै परिच्छेद २१ देखिएको छ । यसलाई मजदुर मैत्री बनाएर संशोधन गरिनुपर्छ । हामी त्यहीँनेर झुक्किएका हौँ, चुकेका हौँ । सामाजिक सुरक्षा हाम्रो लागि बल्छी जस्तो भयो, हामी माछा जस्तो भएर खर्लप्प त्यहाँ फस्यौँ । अब आन्दोलनको विकल्प छैन् ।
हाम्रो महासंघ यस विषयमा गम्भीर बनेको छ, आन्दोलनको विकल्प देखिएको छैन् । सबै महासंघले आ–आफ्नो ठाउँबाट पहल गर्नुप¥यो । किनकि, यो कसैको निजी विषय रहेन् । त्यसैले यसको संशोधनका लागि मजदुर जागरण अभियान चलाउनु पर्छ । हामीलाई २/२ वर्ष किन चुप लागेको भन्न सक्नुहुन्छ । तर, हामी सामाजिक सुरक्षा कोषका कारण चुक्यौं यसका कारण ढिला भएको हो भन्ने हाम्रो ठम्याई हो । ट्रेड युनियनहरूका बीच विभिन्न संयन्त्र छ, जेटियुसीसी/आइटीयुसी–एनएसीमा अब छलफल हुनेछन् । म आइटीयुसी–एनएसीको एडभाइजरी कमिटीमा छु, त्यहाँ पनि यस विषयमा छलफल भइरहेको छ । हामीले भनेका छौं, एक जना मजदुर निष्काशन हुँदा एनटियुसी, जिफन्ट, कोनेप, अन्टुफका मजदुर नै निष्काशन हुने हुन् । अब गम्भीर भएर श्रम ऐनमा रहेका मजदुर विरोधी दफालाई संशोधन गर्न जरुरी छ ।
अहिले नेपालमा आर्थिक संकट छैन्, द्वन्द्व पनि छैन्, अशान्ति छैन्, कलकारखाना चलाउने वातावरण असुरक्षित भन्ने नै छैन् । अहिले मुलुकमा कुनै गृहयुद्ध चलिरहेको पनि छैन् । साम्प्रदायिक दंगा पनि छैन् । यतिबेला ट्रेड युनियन र व्यवसायी बीच श्रम सम्बन्ध पनि राम्रै भएर गइरहेको छ । समाजवाद उन्मुख सरकार छ । यस्तोबेला मजदुरमाथि शोषण हुनु भनेको सरकारले ल्याएको नीति, योजना र कार्यक्रमलाई असफल बनाउनु हो । सरकारले नयाँ युगको प्रारम्भ भयो भनेको छ । समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि ल्याएको छ । कोही बेरोजगार हुनु हुँदैन भनेर रोजीरोटीको ग्यारेण्टी गर्ने गरी प्रधानमन्त्री स्वरोजगार लगायतका कार्यक्रमहरू ल्याइरहेको छ । अर्कोतिर व्यवसायीहरू न्यूनतम् बेतन १३ हजार ४ सय ५० रुपैयाँ लागू गर्न त कता हो कता ? ह्वारह्वार्ती मजदुर निष्काशन गरिरहेका छन् । उद्यमीहरूका यी गतिविधि सरकारको दीर्घकालीन योजना असफल गराउने खालको भएकाले सरकारले पनि गम्भीर भएर सोच्न जरुरी छ । ट्रेड युनियन पनि मजदुरहरूको रोजीरोटी ग्यारेण्टी गर्न लाग्नुपर्छ । व्यवसायीहरूले अकूत मुनाफा आर्जन गर्नका लागि कुनै पनि बाहनामा मजदुर निष्काशन गर्न पाइँदैन । यतिबेला हाम्रो संगठन अन्टुफ निष्काशित मजदुरको पुनर्बहाली र हक हितका लागि आन्दोलनमै छ ।
ट्रेड युनियनका नेताहरू पछिल्लो समय व्यवसायीका नेता हुन् कि मजदुरका नेता हुन छुट्याउनै गा¥हो भयो भन्ने मजदुरहरूकै आरोप छ नि !
त्यस्ता मान्छेहरू ट्रेड युनियनभित्र घुसेका हुन सक्छन् । ट्रेड युनियनमा त्यस्ता मान्छेहरू नहोलान् भन्ने होइन् किनभने यहाँ अहिले पनि ९/१० वटा ट्रेड युनियनहरू क्रियाशील छन् । अर्को कुरा सैद्धान्तिक रुपमा बिचलन आउँदा केही मान्छेहरू ट्रेड युनियनभित्र पनि रहने तर पूँजीपति जस्ता पनि देखिने हुन सक्छन् । तर, ट्रेड युनियनभित्र बसेका मान्छेहरू पूँजीपति वर्गका हुन सक्दैनन् । यदि त्यस्तो छ भने तिनीहरूले ट्रेड युनियन आन्दोलनलाई कमजोर गराइरहेका छन् । हरेक मजदुरले खबरदारी गर्न जरुरी छ । म के भन्छु भने, तिमीहरू पूँजीपति हौ भने एफएनसीसीआईमा गएर बसे हुन्छ । ट्रेड युनियनभित्र बसेर तिम्रा व्यापार फैलाउने मजदुरलाई दमन गर्न छिद्र खोज्दै अप्ठ्यारो पार्ने काम नगर । पूँजीपतिको संगठन ट्रेड युनियन बन्न सक्दैन । ट्रेड युनियनलाई क्रान्तिकारी धारमा लैजान ट्रेड युनियनवाद र अर्थवादको विरोध गरेका हौं । त्यसैले करकारखानाका मालिकलाई ट्रेड युनियनकर्मी हुने छुट दिन सक्दैनौं । यदि त्यस्तो छ भने मजदुर साथीहरूले त्यस्ता व्यक्तिहरूलाई औंला उठाउनु पर्दछ ।
अन्टुफ–जिफन्ट एकता कहाँ पुगेको छ ?
दुई संगठन एकताका लागि पार्टीले संगठनको नाम ट्रेड युनियन महासंघ नेपाल टुङ्गो लगाइदिएको छ । त्यस्तै संगठनको नेतृत्व जिफन्टबाट संयोजक बिनोद श्रेष्ठ र अन्टुफबाट सहसंयोजक जगत सिम्खडा ठोस गरिदिइसकेको अवस्था छ । यसैगरी केन्द्रय समिति २५१ सदस्यीय हुने गरी टुङ्गो लागिसकेको छ । तसर्थ अन्टुफ–जिफन्टको एकता नयाँ ठाउँमा पुगिसकेको छ । विधिवत् एउटा संगठन घोषणा हुन मात्रै बाँकी हो । तर, हामीले आ–आफ्ना गतिविधिहरू चलाइरहेका छौं, छलफलहरू गरिरहेका छौं किनभने एकतालाई मजबुत गराउन र एकतापछिको एकीकृत संगठनलाई थप मजबुत गराउन देशभर रहेका संगठन र सदस्यहरूको अध्यावधि गरिरहेका छौं । यो एकतासँगै ट्रेड युनियनमा जन्मेका दलालहरू, साहुहरू जो छन् उनीहरू बढारिएर जाने छन् ।
अन्तमा, श्रम ऐन २०७४ मा रहेका दफा १४५ र यसका मजदुर विरोधी उपदफाहरू साथै परिच्छेद २१ लाई पूर्णतः संशोधन गरिनु पर्दछ । यदि त्यसो गरिएन भने उद्यमी व्यवसायीहरूले मजदुरका अधिकार आफूले चाहेको बेला कटौती गर्न सक्छन् । त्यसैले सबै ट्रेड युनियनकर्मीहरूले अब उल्लेखित दफा संशोधन र परिवर्तनका लागि एकजुट भएर आवाज उठाउनु पर्दछ । मजदुरकोआवाजलाई दबाउने चेष्टा भयो भने हामी जस्तोसुकै मूल्य चुकाउन तयार हुनुपर्दछ ।