२१ चैत्र ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले–माओवादी केन्द्रको एकता अपरिहार्य आवश्यकता भएको बताएका छन् ।
बुधबार अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले–माओवादी एकता अपरिहार्य आवश्यकता भएको बताएका हुन् ।
एमाले–माओवादी एकतालाई समाजवादी क्रान्तिको तयारीसँग जोडिएको बताउँदै उनले अब मुलुक विकास र समृद्धिको बाटो हुँदै समाजवाद प्राप्तिका लागि कम्युनिष्टहरुको एउटै केन्द्र बनाउन बनाउन लागिएको बताए ।
‘माओवादीको एजेन्डाअनुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनेर तीन तहको चुनाव पनि सम्पन्न भइसकेपछि अब समाजवादको चरणतिर गइयो,’ अध्यक्ष प्रचण्डले भने, ‘समाजवादी क्रान्तितिर नै जाने भएपछि कम्युनिष्टहरुबीच एकता हुनुपर्छ भन्ने माओवादी प्रस्तावमै पार्टी एकता अघि बढेको छ, जुन देशको आवश्यकता र समाजवादी क्रान्तिको तयारीसँग जोडिएको छ ।’
उनले बैठकलाई सम्बोधन गर्नेक्रममा सिङ्गै कम्युनिष्ट आन्दोेलनलाई एकताबद्ध गर्ने, समाजवादका निम्ति जनतालाई तयार पार्दै, प्रशिक्षित गर्दै लैजानु पर्नेमा जोड दिए ।
‘राष्ट्रिय पूँजीको विकास गरेर समाजवादको बलियो आधारशिला खडा गर्ने भन्ने बृहत्तर रणनीति अन्र्तगत यो प्रस्ताव आएको हो’, उनले भने, ‘यहीँबाट लिडरसिप लिएर हामीले समाजवादको आधार निर्माण गर्ने भन्ने हो ।’
उनले एमाले–माओवादी केन्द्रको एकताबारे प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि केही महत्वपूर्ण राजनीतिक निर्णय हुनसक्ने बताउँदै यदि त्यसो भएन भने भ्रमण लगतै टुङ्गोमा पुगिने जानकारी दिए ।