१५ फागुन ०७४, सुर्खेत । गुर्भाकोट नगरपालिका-२ को मालारानीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मंगलबार भे १ त ६१६८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गुर्भाकोट-८ मेहेलकुनाका २० वर्षीय चालक फत्तबहादुर विक, २५ वर्षीय शशीराम विक र ३२ वर्षीय नारायण खत्री रहेका छन् ।
त्यस्तै, गुर्भाकोट-८ कै ३१ वर्षीय टेकबहादुर धौलाकोटी र ३२ वर्षीय अम्मर विक घाइते भएका छन् । घाइतेहरु खतरामुक्त रहेको र मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ ।
गैरी बजारबाट सरीया बोकेर बोटेचौरतर्फ आउँदै गर्दा मालारानी प्रहरी चौकी नजिकै ओरालो सडकमा विपरीत दिशाको नालामा ट्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक इन्चार्ज कवि सेन्चुरीले बताए ।