२७ माघ ०७४, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताएका छन् ।
शनिबार चितवनको एक कार्यक्रममा बोल्दै प्रचण्डले देशलाई अप्ठ्यारो पर्न लाग्यो भने कुनै उपाय निकालेर फड्को हान्ने बताएका हुन् । अगाडि बढ्ने बताए ।
प्रचण्डले राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै देश संकटमा परेको बेला विगतमा र अहिले पनि आफूले सबै समूह, शक्तिबीचको तिक्तता र विवादलाई साम्य गरी निकासतर्फ अघि बढाउने भूमिका खेलेको बताए ।
उनले भने, ‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फडको मार्न सक्छु।’ उनले थपे, ‘अब प्रचण्ड भनेकै त्यही भइसक्यो । माओवादी भनेकै त्यही भइसक्यो । अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अगाडि बढ्ने ।’
देश समुन्नत र समृद्ध बनाउनु आफ्नो उद्देश्य रहेको बताउँदै अध्यक्ष प्रचण्डले उनले भने, ‘शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु ।’ देशमा अल्पसंख्यक, जनजाति, मधेसी, महिला, दलित, भौगौलिकरुपमा उत्पीडित जनता, किसान र मजदूरका पक्षमा लामो लडाई लडेर आफू शान्ति प्रक्रियामा आएको बताउँदै प्रचण्डले प्रश्न गरे, ‘१२ बुँदे समझदारी र शान्ति सम्झौता नगरेको भए देश कहाँ पुग्थ्यो ?’
एमाले र माओवादीबीच पार्टी एकीकरणमा ढिलाइ भइरहेको बेलामा प्रचण्डको यस्तो भनाइ आएको छ । पार्टी एकीकृत भइसकेपछि प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली बन्ने निश्चित भइसके पनि पार्टी अध्यक्ष को बन्ने भन्ने निश्चित भएको छैन ।
पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै नेताले बाँड्नुपर्ने माओवादी पक्षको दावी छ । एमालेका दोस्रो तहका नेताहरुले दुबै पद अध्यक्ष ओलीलाई हुनुपर्ने बताइरहेका बेला प्रचण्डको यस्तो भनाइ सार्वजनिक भएको हो ।