ओहोदाको प्रमाणपत्र राष्ट्रपति भण्डारीसमक्ष प्रस्तुत

२५ माघ ०७४, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीसमक्ष नेपालका लागि स्वीजरल्यान्डका आवासीय र अन्य तीन मुलुकमा गैरआवासीय राजदूतहरुले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा स्वीजरल्यान्डकी एलिसावेथ भोन क्यापेलेरले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । क्यापेलेर यसअघि पनि नेपालमा रहेर काम गरिसकेकी स्वीजरल्यान्डकै अनुभवी कूटनीतिज्ञ हुन ।

स्वीजरल्यान्ड नेपालको दातृ मुलुक समेत हो । स्वीजरल्यान्डले नेपालमा दूतावास स्थापना गरेपछि उनी चौथो राजदूतको रुपमा आएकी हुन् । उनी स्वीस सहयोग नियोगमा रहेर नेपालमा लामो समय काम गरेकी थिइन् ।

उनीसँगै राष्ट्रपतिसमक्ष पनामा, सुडान र जाम्बियाका गैरआवासीय राजदूतहरु क्रमश: डा जिलबेट्रो लेरिना गार्सिया, सिराजुद्दिन हमिद युसुफ र जुडिथ के के कांगोमा कापिजीमाप्गानाले आ-आफ्ना ओहोदाका प्रमणपत्र पेस गरेका थिए । गैरआवासीय तिनै मुलुकले दिल्लीबाट नेपाल हेर्ने गरेका छन् ।

ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा राष्ट्रपतिले उनीहरुसँग संक्षिप्त दुईपक्षीय वार्ता समेत गरेकी थिइन् । ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रममा प्रधानसेनापति, राष्ट्रपति कार्यालयका सचिव, परराष्ट्र सचिव, राष्ट्रपतिका सल्लाहकारलगायतका अधिकारीको उपस्थिति थियो ।

 

तपाइको मत