प्रदेश नं. ७ मा ६ सदस्य निर्विरोध, दलित र अल्पसंख्यक/अपाङ्गको मात्र निर्वाचन हुने

१० माघ ०७४, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका प्रदेश नं. ७ बाट मनोनयन दर्ता गरेका ६ सदस्य निर्विरोध भएका छन् ।

बुधवार भएको उम्मेदवारी मनोनयनको क्रममा खुला र महिला तर्फ आवश्यक सदस्य संख्यामा मात्रै उम्मेदवारी परेपछि ६ सदस्य निर्विरोध भएका हुन ।

वाम गठबन्धनको तर्फबाट चार र नेपाली कांग्रेसको तर्फबाट दुई गरी ६ जना निर्विरोध हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

निर्विरोध हुनेहरुमा खुलातर्फ एमाले अछामका अध्यक्ष एवं पूर्व सभासद् शेरबहादुर कुँवर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे र नेकपा माओवादी कैलाली जिल्ला इन्चार्ज हरिराम चौधरी ‘उत्सव’ रहेका छन ।

यस्तै, महिलातर्फ एमाले केन्द्रीय सहरी बिकास विभाग सदस्य ईन्दु कडरिया, कैलाली जिल्ला कमिटी सदस्य कमला वली र नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व शिक्षिका तारादेवी भट्ट रहेका छन ।

निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश जयानन्द पनेरुले आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेका कारण महिला र खुला सदस्यका लागि निर्वाचन नहुने बताए । निर्वाचन अधिकृतको कार्यालयले घोषणा भने गरिसकेको छैन ।

उनले  ‘हामी १५ गते मात्रै निर्विरोध भएको घोषणा गर्छौं ।’ यो बीचमा कसैले फिर्ता लिन सक्छ वा कसैको बिरुद्धमा उजुरी पर्न सक्छ, त्यसैले अहिले नै निर्विरोध भएको घोषणा गर्न मिल्दैन ।’ पनेरुले दलित र अल्पसंख्यक/अपाङ्गको निर्वाचन हुने बताए ।

दलितमा वाम गठबन्धनको तर्फबाट एमाले नेता चक्रप्रसाद स्नेही र कांग्रेसको तर्फबाट शेरीराम पार्कीको उम्मेदवारी परेको छ । यस्तै अपाङ्ग/अल्पसंख्यकमा वाम गठबन्धनको तर्फबाट महेशकुमार महरा र कांग्रेसको तर्फबाट छत्रराज जोशीले उम्मेवारी दर्ता गरेका छन ।

तपाइको मत