२७ पुस ०७४, काठमाडौं । गणतन्त्र घोषणा भएपछि पहिलो पटक बिहीबार २९६ औँ पृथ्वी जयन्ती मनाइएको छ ।
बिहीबार २९६ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको शाहको शालिकमा माल्यार्पण गरेर औपचारिक रुपमै पृथ्वी जयन्ती मनाइएको हो । सो अवसरमा नेपाली सेनाको टोलीले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो ।
यसैगरी उपप्रधानमन्त्री कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा, आपूर्तिमन्त्री जयन्त चन्द, प्रधानसेनापति राजेन्द्र क्षत्री, विभिन्न प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव, काँग्रेस नेता डा रामशरण महतलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरुले शाहको सालिकमा माल्यार्पण गरेका थिए ।
विस २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरे पनि यो वर्षदेखि सार्वजनिक बिदा दिन सुरु गरेपछि दिवस भव्यताका साथ मनाउन थालिएको हो।