१९ पुस ०७४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी गठबन्धन भन्दा बाहिर गएर आफु प्रधानमन्त्री नहुने बताएका छन् ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रमपछि सञ्चारकर्मीहरुले कांग्रेसको प्रस्तावबारे राखेको प्रश्नमा प्रचण्डले चुनावी गठबन्धन भन्दा बाहिर गएर आफु प्रधानमन्त्री नहुने बताएका हुन् ।
क.प्रचण्डले वाम गठबन्धन र पार्टी एकता गर्ने संकल्पका साथ चुनावमा गएको र जनताले त्यसलाई अनुमोदन गरेको भन्दै उनले भने, मैले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन ।’
कांग्रेस नेताहरुले एमालेलाई छाडेर आए प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताइरहेका बेला उनी भने वाम गठबन्धनप्रति प्रतिवद्ध देखिएका छन् ।
क.प्रचण्डले एमाले र माओवादीबीच पार्टी एकतामा कुनै अप्ठ्यारो नभएको पनि बताए । प्राविधिक कारणले मात्र केही दिन यता छलफल रोकिएको भन्दै उनले भरेभोलि नै बैठक बस्ने बताए ।
प्रचण्डले पार्टी अध्यक्ष नदिए पार्टी एकता नहुने माओवादी नेताहरुको अभिव्यक्तिको पनि खण्डन गर्दै उनले भने, ‘पार्टी एकता संयोजन समितिमा दुई नेता भनिएको छ र दुबै नेता कार्यकारी भूमिका हुनुपर्छ भन्ने विवाद छैन ।’