४ मंसिर ०७४, काठमाडौंं । नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत र प्रदेश नंं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटनामा संलग्न भएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका २८ वर्षीय अनन्त धिताललाई आइतबार घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
धिताल शुक्रबार काँग्रेसका उम्मेदवार महतद्वयलाई लक्षित गरी प्रेसरकुकर बम विस्फोटन गराएर फरार भएका थिए ।
धिताल नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका जिल्ला सदस्य भएको र उनीमाथि गएको भदौ ३० गते दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रेणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई मोसो दलेर दुव्र्यबहार गरेको अभियोग समेत प्रहरीले लगाएको छ ।
धितालमाथि जिल्ला प्रशासन कार्यालयमा ‘सार्वजनिक अपराध ऐन’ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।