ओलीको बोली : काँग्रेस समृद्धि र राष्ट्रिय एकता विरोधी

विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस समृद्धि, राष्ट्रिय एकता  र प्रगतिविरोधी भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा सदस्य पदमा मनोनयन गराउन झापा जाने क्रममा विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘राजनीति नै छैन त भन्दिन तर समृद्धि र राष्ट्रिय एकता विरोधी तथा गलत राजनीति काँग्रेसमा हावी छ,’ ओलीले भने ।

यस्तै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको हड्बडाउने बानी पहिल्यैदेखि रहेको बताए ।

‘बाम गठबन्धनले अधिनायक लाद्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा हड्बडाउनु भएको छ’ ओलीले भने, ‘त्यो उहाँको पहिल्यैदेखिको बानी हो ।’

उनले आफू प्रधानमन्त्री बन्न चुनावमा नहिँडेको भन्दै केपी ओली प्रधानमन्त्री, प्रचण्ड पार्टीको अध्यक्ष र माधव नेपाल राष्ट्रपति बन्न एमाले र माओवादीबीच गठबन्धन नबनेको जिकिर गरे ।

प्रधानमन्त्री देउवाले सत्तामा बसेर प्रतिपक्षलाई सिध्याउँछु भन्नु असाधारण र अनुचित विचार भएको बताउँदै ओलीले सत्तामा रहेको फाँसीवादी चरित्र भएको टिप्पणी गरे ।

उनले कार्यकारी राष्ट्रपति अमेरिकामा पनि भएको तर त्यहाँको सरकार अधिनायकवादी नभएको उदाहरण पेश समेत गर्न भ्याए ।

 

तपाइको मत