३१ असोज ०७४, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेकपा माओवादी केन्द्र तत्काल सरकारबाट बाहिरिने निर्णय नलिइएको बताएका छन् ।
मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका सचिवालय सदस्य समेत रहेका गृहमन्त्री शर्माले सरकारबाट फिर्ता हुने भनेर पत्र तयार गरी हस्ताक्षर गर्ने तयारी हुँदै गर्दा निर्वाचन आयोगमार्फत् चुनाव सारिँदैछ भन्ने सूचना आएपछि पार्टीले तत्काल सरकार छाड्ने निर्णय नगरिएको जानकारी दिए ।
माओवादी केन्द्र सरकारबाट बाहिरिन भनी लेखेको पत्र देखाउँदै गृहमन्त्री शर्माले चुनाव सारिँदैछ भन्ने सूचना आएपछि पार्टी जनताप्रति जिम्मेवार भई सरकार छाड्ने निर्णयबाट पछि हटेको बताए ।
प्रधानमन्त्रीले विना विभागीय मन्त्री बनाउने कुरा छ, यस्तो अवस्थामा पनि सरकारमा बसिरहनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री शर्माले भने, ‘त्यो के गर्ने भन्ने उहाँको अधिकारको कुरा हो, हामी सरकारमा बस्न लोभि छैनौं । मन्त्रीको लोभले सरकार नछाड्ने भनेको होइन । सरकारले निर्वाचन हुने ग्यारेण्टी गर्दछ भने हामी अहिले नै सरकार छाड्न तयार छौं ।’