स्वास्थ्य मन्त्रीको गृहनगरका अस्पतालमा डेंगु रोग परीक्षण गर्ने किटको अभाव

महोत्तरी । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको गृहनगर बर्दिबासका सरकारी अस्पतालमा डेंगु रोग परीक्षण गर्ने किटको अभाव भएको छ ।

असोजको पहिलो सातादेखि छिटफुट रुपमा देखिएको डेंगुको संक्रमण महोत्तरीको बर्दिबासमा पछिल्लो समय महामारीको रुपमा फैलिदैं गएपछि किटको अभाव भएको हो ।

बर्दिबास अस्पतालमा सोमबार १२ जनालाई चेक जाँच गरिएकोमा ५ जनामा डेंगुको संक्रमण फेला परेसँगै महोत्तरीमा डेंगुबाट संक्रमितको संख्या ५६ पुगेको छ ।

सरकारी अस्पतालमा किटको अभाव भएपछि डेंगु लागेको आफूलाई शंका लागेकाहरु निजी हस्पिटलहरुमा गएर स्वास्थ्य परीक्षण गराइरहेका छन् ।

निजी हस्पिटलहरुमा आठ सयदेखि एक हजार तीन सयसम्म रुपैंया डेंगु परीक्षणमा तिर्नु परेको विरामीहरु बताउँछन् ।

बर्दिबासस्थित बर्दिबास अस्पताल, शुभ स्वस्तिक र जनसेवा हस्पिटलमा अहिलेसम्म ज्वरो लागेर आएका दुई सय २२ जना मध्ये ८७ जनामा डेंगुको संक्रमण फेला परेको हो ।

जसमध्य ५६ जना बर्दिबासका र अन्य डेंगु रोगबाट संक्रमितहरु सर्लाहको लालबन्दी, धनुषाको ढल्केवर र महेन्द्रनगरको रहेको अस्पतालले जनाएको छ । बर्दिबास नगरपालिको १, २, ३ र १४ नम्बर वडामा डेंगुको संक्रमण बढ्न थालेपछि स्थानीयहरु त्रस्ति बनेका छन् ।

सोमबार बर्दिबास नगरपालिका मेयर स्वास्थ्यमन्त्रीलाई भेट्न कठमाण्डौं पुगेका छन् ।

स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्र यादवका अनुसार देशभरीमा डेंगु परीक्षणको लागि तीन सय किट आएको थियो । हामीलाई ८० वटा प्राप्त भयो । केन्द्रमा किटको माग गरिएको छ ।

बर्दिबासमा चार सय भन्दा बढीमा डेंगुको संक्रमण भइसकेको तर उनीहरु अझै अस्पतालमा आउन नसकेको अनुमान गरिएको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाका क्षेत्रिय निर्देशक डा. बासुदेव पाण्डेयले बताए ।

उनले भने,‘ डेंगुको परीक्षण निजी वा सरकारी अस्पतालमा निःशुल्कमा हुन्छ ।’

तपाइको मत