लोकतान्त्रिकको नाममा प्रतिक्रियावादी र वामको नाममा दक्षिणपन्थी गठबन्धन – मोहन वैद्य

२२ असोज ०७४, पोखरा । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले विकसित राजनीतिक घटनाक्रमलाई लोकतान्त्रिकको नाममा प्रतिक्रियावादी र वामको नाममा दक्षिणपन्थी गठबन्धन बनेको आरोप लगाएका छन् ।

क्रान्तिकारी माओवादीको कास्कीको पोखरामा आइतबारदेखि सुरु भएको  प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नेक्रममा अध्यक्ष किरणले काँग्रेस नेतृत्वको गठबन्धनलाई लोकतान्त्रिक गठबन्धनको नाममा प्रतिक्रियावादी र एमाले–माओवादी गठबन्धनलाई वामको नाममा दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका हुन् ।

 

क्रान्तिकारी माओवादीको सम्मेलनमा बोल्ने वक्ताहरुले दक्षिणपन्थी र प्रतिक्रियावादी गठबन्धनलाई चुनौति दिन क्रान्तिकारी माओवादीहरुको गठबन्धन र  एकतामा गर्नु पर्नेमा जोड दिए ।

क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुबै दक्षिणपन्थी र प्रतिक्रियावादी गठबन्धन भएको बताउँदै त्यसलाई परास्त पार्न क्रान्तिकारी माओवादीको एकता अपरिहार्य भएको बताए ।

अध्यक्ष किरणले आफ्नो पार्टीको सम्मेलनले क्रान्तिकारीहरुबीच एकता गर्नुपर्ने विषयमा छलफल गरेर आधार तय गर्ने जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’का स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीले शुभकामना मन्तव्य व्यक्त गर्दै  विश्वलाई एउटै नजरले हेर्ने क्रान्तिकारीहरुबीच एकता गर्नुपर्ने बताए ।

क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले नेपालमा तेश्रो ध्रुविकरण आवश्यक रहेको बताउँदै त्यसको आधार तय गर्न आफ्नो पार्टीको सम्मेलन भइरहेको बताए ।

नेता सिपी गजुरेलले ५ दिनसम्म चल्ने सम्मेलनले पोखरा घोषणा पत्र जारी गर्दै नयाँ नेतृत्व चयन गर्ने बताए ।

तपाइको मत