१० असोज ०७४, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी तालमेलका विषयमा अन्य दलहरुसँग छलफल पनि जारी रहेको बताएका छन् ।
मंगलबार प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । साथै, उनले चितवन क्षेत्र नं ३ मा निर्वाचन लडेर जित्ने कोशिसमा रहेको बताएका छन् ।
सञ्चारकर्मीले एक्लै निर्वाचन जित्न सक्नुहुन्छ ? भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले आफूले जित्ने सम्भावना रहेको बताएका छन् ।
यद्यपि चुनावी तालमेलका विषयमा अन्य दलहरुसँगको छलफल पनि जारी रहेको समेत बताएका छन् । उनले नेपाली काँग्रेस र एमालेसँग तालमेलका विषयमा छलफल चलिरहेको भन्दै ठोस निष्कर्षमा नपुगेको बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग मात्रै तालमेल गर्ने नीतिगत निर्णय भएको भन्दै उनले माओवादीप्रतिको जनलहर रहेकाले एक्लै निर्वाचनमा जान पनि सकिने बताए ।
बाँदरमुढे घटनाका कारण अहिले पनि आलोचित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू असोज तेस्रो साता माडी जाने बताएका छन् ।