बालकदेखि वृद्धसम्म, घरदेखि परदेशसम्म तरङ्ग ल्याउँछ दशैंले

बद्री पण्डित
आज घटस्थापना अर्थात् दशैंको पहिलो दिन हो । दशैंलाई नेपालीहरूले मनाउने ठूलो चाडको रूपमा लिन्छन् ।

दशैं सबैभन्दा लामो र देशभर सबै जातजाति र धर्मले मनाउने गरेको पाइन्छ । विशेषगरी हिन्दूहरूले वर्ष दिनमा एकपटक मनाउने चाड दशैं नेपालीहरूको महान् पर्व हो ।

नेपालको राष्ट्रिय चाडको गरिमा बोकेको बडादशैं अर्थात् विजयादशमी हाम्रो मौलिक नेपाली पात्रो अनुसार हरेक वर्षको आश्विन शुक्लपक्ष प्रतिपदाको घटस्थापनाको दिनदेखि शुरु हुने दशैंले बालकदेखि वृद्धसम्म, घरदेखि परदेशसम्म वर्षको एकचोटी एउटा तरङ्ग ल्याउँछ ।

धार्मिक ग्रन्थअनुसार देव र असुरबीच सय वर्ष युद्ध भयो । देवताका नायक इन्द्रसमेत असुरको स्वामी महिषासुरबाट पराजित भएर भागे । सारा स्वर्गमा रुवाबासी भयो । इन्द्र र विष्णु रुँदै ब्रह्माको वासमा गएर स्वर्गसमेत महिषासुरले कब्जा गर्न लागेको वृत्तान्त सुनाए ।

देवताकाे आसनसमेत हल्लिने अवस्थाको खबर पाएपछि ब्रह्मा, विष्णु र शिवको रिसले चारैतर्फ अग्निज्वाला निस्क्यो । त्यो अग्निज्वाला र सबै देवता क्रोधित भएर निस्केको तेजले एक थुप्रो शक्ति देखियो, त्यही शक्तिले नारीको रूप लियो । तिनै नारी दुर्गा भगवतीका रूपमा प्रकट भई असुर सेनापति चिक्षुर, चामर, उद्यत्त, रक्तबीजलाई पराजित गरे पनि महिषासुरलाई मार्न नसकेपछि मधुपान (मदिरापान) गरी महिषासुर बध गरिन् । त्यसैले देवीभागवतमा वर्णन गरिएअनुसार घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म नवदुर्गा पूजा गरिन्छ ।

यही बेलादेखि शैलपुत्री, ब्रह्माचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री यी नौ नामका नारीलार्ई देशका विभिन्न शक्तिपीठमा राँगा, बोका, हाँस, कुखुरा आदि र कुभिन्डो, घिरौंला, काँक्रो, करैला आदिसमेत नौ वस्तु काटेर पूजा गरिन्छ ।

घरघरै नवदुर्गाको एकरूप सिंहवाहिनी भगवती, महाकाली, महासरस्वतीको पूजा पनि गरिन्छ । दशमीको दिन यिनै नवदुर्गाको शक्तिले चण्डमुण्ड, शुम्भनिशुम्भ, रक्तबीज आदि असुरलाई परास्त गरी देवताले विजय हासिल गरेको तथा अद्भुत असुर रावणमाथि विजय प्राप्त गर्न रामले नवरात्रका नौ दिन भगवती दुर्गाको आराधना गरी शक्ति सञ्चय गरेर दशमीको दिन रावणको बध गरेको उपलक्ष्यमा विजयादशमीको टीका, अक्षता, जमरा आदि लगाउने चलन गरेको बयान छ ।

अक्षता भनेको क्षत नहुने, कहिल्यै नटुक्रिने हुनाले यो लगाउने चलन रहेको पाइन्छ । रातो रङलाई पराक्रमका रूपमा लिइने हुनाले रातो अक्षता लगाउँदा सांसारिक शत्रुलाई परास्त गरिने धार्मिक धारणा छ ।

नेपाल र छिमेकी राष्ट्र भारतलगायत अन्य केही हिन्दू धर्म मान्ने राष्ट्रहरूमा समेत मनाइने विजयादशमी अथवा बडादशैं शक्ति तथा शस्त्रपूजनको पर्व र विजय उत्सवको पर्व पनि हो ।

शास्त्रीय मान्यता एवं विश्वास अनुसार भगवान् श्रीरामले यसै शुक्लपक्ष, दशमीको दिन अधर्मी दानव रावणको बध गरी लोकको कल्याण गरेका थिए । पछि गएर हिन्दू धर्ममा आस्था राख्ने हिन्दूहरूले विजयादशमी भनेका हुन् ।

त्यसैले यस दिन नेपाल, भारतलगायत अन्य हिन्दू राष्ट्र र ठाउँमा रावणको कठपुतली ठड्याएर अग्निवाण प्रहार गरी ढाल्ने र जलाउने चलन छ ।

मुख्य रूपमा देवी दुर्गाको उपासना र पूजा अर्चना गरी यो पर्व मनाउने गरिन्छ । अझ विभिन्न दुर्गा शक्तिपीठहरूमा पूजाआजा गरी पशुवलीसमेत दिने गरिन्छ ।

दशैंलाई दुष्टमाथि सज्जनको विजयोत्सवको रूपमा समेत लिने गरिन्छ । आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको दिनका रूपमा समेत लिने गरिएकाले कतिपयले यसलाई विजया दशमी भनी बुझ्ने गर्छन् ।

घटस्थापनादेखि शुरु हुने दशैं कोजाग्रत पूर्णिमाका दिनमा गएर समापन हुने गर्दछ । घटस्थापनादेखि पहिलो ९ दिनसम्म नवरात्रि पूजा गर्ने चलन छ । जहाँ विभिन्न शक्तिपीठहरूको महिमाको चर्चा गरिन्छ र अनि पूजा पाठ पनि गर्ने गरिन्छ ।

दशैंको पहिलो दिन घटस्थापना हुन्छ, जसमा घरको पूजा कोठामा पवित्र स्थानमा घट स्थापना गरिन्छ । दियो कलश स्थापना गरी जमरा राख्ने गरिन्छ । देवी दुर्गाको प्रतीकका रूपमा यसलाई प्रतिस्थापना गरिएको हुन्छ । पवित्र स्थानबाट ल्याएको बालुवामा जौ, मकै, गहुँलगायत बीज छर्ने गरिन्छ । यसरी स्थापना गरिएको स्थानलाई जमरा–घर पनि भनिन्छ ।

जमरा घरमा उमारेको जमराको हरेक दिन पूजा आराधना गरिन्छ । दशैंको सातौं दिन फुलपाती भित्र्याउने चलन छ । परम्परादेखि चल्दै आएको गोरखा दरबारबाट ल्याएको फुलपाती काठमाडौं वसन्तपुरको जमराघरमा भित्र्याउने, विभिन्न बाजागाजासहित तोप पडकाउने चलन छ । नागरिकहरूले पनि आफ्नाे घरमा फुल, उखु, केरा र अदुवासहितको फुलपाती भित्र्याउने चलन छ ।

दशैंको आठौ दिन महाअष्टमी हो । यो दिन देवीदेवताको पूजा अर्चना गरी घर–घरमा बली चढाउने प्रचलन पनि पाइन्छ । मीठामीठा खानेकुरा खाने अनि नयाँ लुगा लगाउने चलन पनि छ । सँगै खुला चौरमा गाडेर पिङ खेल्ने चलन पनि छ । त्यसको साथै पूजाघरमा दुर्गा स्थापना गर्ने चलन पनि छ ।

नवौं दिन नवमी पर्वका रूपमा मनाउने गरिन्छ । यो दिन विशेषगरेर काठमाडौंको तलेजु भवानीको पूजा अर्चना गरिन्छ भने घर–घरमा देवी माताको पूजा आराधना गरिन्छ । आफूले वर्षभरि प्रयोगमा ल्याउने सवारी साधनहरूको पूजा गर्ने चलन पनि छ ।

दशौं दिन विजया दशमी हो । यो दिन बिहानै शुभसाइतमा दशैंको आठौं दिन स्थापना गरिएको दुर्गा विसर्जन गर्ने र त्यसपश्चात् मान्यजनबाट टीका थापी आशिष लिने गरिन्छ । यो दिन दशैंको मुख्य दिन मानिन्छ । मान्यजनबाट टीका ग्रहण गर्न  जानेहरूको घुइँचो हुन्छ ।

दशैंको पहिलो दिनदेखि दशमीको दिनसम्म माता नवदुर्गा एवं त्रिशक्तिदेवी माता (महाकाली, महालक्ष्मी र महासरस्वती) को विधिवत् पूजाआजा एवं आराधना गरिन्छ ।

हिन्दू धार्मिक शास्त्र अनुसार विजयादशमीलाई माता दुर्गा भगवतीले दानवी शक्तिमाथि अर्थात् असत्य, अन्याय र अधर्ममाथि सत्य र धर्मको विजयको प्रतीक तथा भगवान् श्रीरामले अधर्मी एवं अत्याचारी राक्षस रावणमाथि विजय हासिल गरेको उपलक्ष्य वा उत्सवको रूपमा लिने गरिन्छ ।

तसर्थ यस पावन दिनको खुशीयालीमा नेपाली समाजमा उमेरमा ठूलाबडाबाट सानाले नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने र आशीर्वाद लिने चलन छ ।

पौष्टिक खानेकुरा र मनोवैज्ञानिक दृष्टिकोणले दशैं बालबालिकाका लागि महत्वपूर्ण चाड हो । दशैंमा बालबालिकाले लामो छुट्टी पाउँछन् ।

दशैंका लागि भनेर जतिसुकै विपन्न वर्गका व्यक्तिको घरमा पनि चिउरा, मासु, चिल्लो पदार्थको जोहो गरिएकै हुन्छ । अर्थात् अन्य बेलाभन्दा दशैंमा खानाको परिकार भिन्न हुन्छ ।

यस विशेष दशमीको दिनलाई नेपालीहरूले टीकाको दिन पनि भन्छन् । विजया दशमीको दिन नेपालको प्रायः ठाउँमा विभिन्न मेला, मनोरञ्जनात्मक कार्यक्रमहरू हुने गर्दछ ।

मानव जाति हर्षोल्लसित हुन, हाँस्न, रमाउन, नाच्न, खेल्न, विविध किसिमले मनोरञ्जन गर्न चाहन्छ । यो आवश्यकता हो र नैसर्गिक अधिकार पनि ।

नेपाली समाजमा केही बुद्धिजीवीले संस्कार परिवर्तनको लागि केही नयाँ कदम चाल्ने चेष्टा गरेको पाइन्छ । जस्तै: दशैंका बेला संस्कृति रूपान्तरणको विषयमा बहस चलाउने, विचारगोष्ठी राख्ने, परिवार तथा समाजबीच जीवन र जगत्बारे छलफल गर्ने, समाजमा प्रचलित सबै संस्कृति निर्माण तथा संस्कारको उत्पत्ति र विकासबारे बहस चलाउने आदि काम पनि हुँदै आएका छन् ।

तपाइको मत