टेक्सास । अमेरिकाले नेपाललाई अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कोपअरेसन (एमसीसी) बाट ५० अर्ब रुपैयाँ (५०० मिलियन डलर) अनुदान सहयोग गर्ने भएको छ ।
नेपालले अमेरिकासँग दुई पक्षीय सम्बन्ध स्थापित भएयताकै सबैभन्दा ठूलो अनुदान रकम विद्युत र सडक विस्तार लागि पाउने भएको हो ।
अमेरिकाले गरिब मुलुकहरुलाई सहयोग गर्न स्थापना गरेको एमसीसीको बोर्ड अफ डाइरेक्टरको अगस्ट महिनामा बसेको बैठकले सो रकम प्रस्ताव स्वीकृत गरेको थियो ।
अमेरिकी संसदले सहयोग रकम अनुमोदन गरेपछि दुवै देशका सरकारबीच यही सेप्टेम्बर महिनामा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहयोग सम्झौतामा हस्ताक्षर गर्न अमेरिका आउने तय भइसकेको अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीले बताएका छन् ।
राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएयता एमसीसीले दक्षिण एशियाली राष्ट्रलाई सहयोग उपलब्ध गराउने प्रस्ताव स्वीकृत गरेको यो पहिलो निर्णय हो ।
एमसीसीका कामु सिइओ जनोथन मासकाअनुसार उक्त रकममा नेपालले १ अर्ब ३० करोड अमेरिकी डलर थप गर्ने प्रतिबद्धता जनाएको छ । नेपालको रकमसहित संयुक्त कोषमा ६३० मिलयिन अमेरिकी डलर हुनेछ ।
सहयोग रकम विद्युत र सडकमा खर्च हुने
एमसीसीको सहयोगमा विद्युत र सडक दुई परियोजना सञ्चालन हुनेछन् । इलेक्ट्रिीसिटी ट्रान्समिसन परियोजनाले ३०० किलोमिटर लामो हाइभोल्टेज ट्रान्समिसन लाइन निर्माण गर्नेछ । यसले नेपालको एक तिहाई भूभागमा विद्युत् आपूर्तिका लागि बलियो संरचना स्थापना गर्नेछ ।
दोस्रो चरणमा यही आयोजनाले क्रस बोर्डर ट्रान्समिसन लाईन विस्तार गरी भारतसँगको विद्युत् व्यापारको बलियो आधार खडा गर्नेछ ।
दोस्रो आयोजना सडकसम्बन्धी रहेको छ । नयाँ सडकहरु निर्माण गर्दै पुराना सडकहरुको स्तरउन्नति गर्नेछ ।
सहयोग प्रस्ताव स्वीकृत गर्नुभन्दा पहिला एमसीसीको एउटा टोली नेपाल गएर वस्तुस्थिति बुझ्ने काम गरेको थियो । एमसीसीका यूरोप, एसिया प्यासिफिक र ल्याटिन अमेरिका हेर्ने डेपुटी रिजनल भाइस प्रेसिडेन्ड फाटेमा जेड समरको नेतृत्वको टोलीले नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवा, योजना आयोगका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेसहितको उच्च सरकारी टालीसँग छलफल गरेको थियो ।
प्रधानमन्त्री देउवाले एमसीसी लगानीका आयोजना पाँच वर्षमा पूरा गर्ने प्रतिबद्धता जनाएपछि अमेरिकी पक्ष सहयोगका लागि तयार भएको हो ।
एमसिसीको आधिकारिक वेबसाइटका अनुसार नेपाल परियोजना प्रतिनिधिका रुपमा हिमेश ढुंगेललाई तोकिएको छ ।