२८ साउन ०७४, काठमाडौं । सरकारले आज शनिबार देशैभर वर्षात् हुने भएकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ ।
पूर्वमा झापादेखि पश्चिममा चुरे क्षेत्रसम्म बाढीको जोखिम रहेको भन्दै सरकारले सतर्क रहन अनुरोध गरेको हो ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले विशेष अपिल जारी गर्दै तल्लो तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको छ ।
भारी वर्षा हुने भएकाले पूर्वका कन्काई, कोशी, कमला, बिरिङ, त्रियुगा, बाग्मती, खाडो, रातु, लालबकैया र पूर्वी राप्तीमा बाढीका कारण पानीको सतह बढेकाले जोखिम बढेको छ ।
बाढी पूर्वानुमान शाखाले गएराति साढे ८ बजे जारी गरेको विशेष अपिल अनुसार कन्काई नदीको मैनाचुलीस्थित केन्द्रमा जलसतहले खतराको तह पार गरिसकेको छ ।
शुक्रबार बेलुकी ७ बजेर १५ मिनेटमा जल सतर्कताको तह र ८ बजेर १० मिनेटमा खतराको सतह पार गरिसकेको छ ।
‘भिषण बाढी हुने देखिएकाले कन्काई नदीको तल्लो तटीय डुबान भइराख्ने क्षेत्रमा बस्नेहरुलाई सुरक्षित स्थानमा रहनुहुन यो विशेष बुलेटिन जारी गरिएको छ,’ बाढी पूर्वानुमान शाखाले भनेको छ ।
कन्काईमा जलसतह ३.७ लाई सतर्कता र ४.२ लाई खतराको तह निर्धारण गरिएको छ ।
यसैगरी सप्तकोशी नदीको पानीको बहाव यस वर्षकै उच्च भएको छ ।