२४ साउन ०७४, भक्तपुर । आज उपत्यकामा गाइजात्रा पर्व मनाइएको छ । भक्तपुरवासीले परम्परागत गाईजात्रा पर्वमा घिन्ताङघिसी नाच नाच्दै गाईजात्रा पर्व मनाएका छन् ।
मंगलबार भक्तपुरमा मौलिक पोशाक हाकुपटासीमा सजिएका महिलाहरुले बाजाको तालमा एक-एर्काको लठ्ठी ठोक्काएर घिनताङ घिसी नाच्दै मनोरञ्जन दिए, दिलाए ।
घिनताङ घिसी नाच र सहभागिता हेर्दा भक्तपुरका युवा युवतीहरु आफ्नो मौलिक सँस्कृति र परम्परा जोगाउन सक्रिय छन् ।
साताव्यापी रुपमा मनाइने गाईजात्रा पर्व भक्तपुरमा जनैपूर्णिमाको दिनदेखि नै सुरु हुन्छ । जनैपूर्णिमाका दिन अपराहृन तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङ घिसी नाच निकालेर भक्तपुर परिक्रमा गरिएपछि जात्रा सुरु हुने गुठी कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदी बताए । त्यसपछि तलेजुको पूजा गरी साँझ गाईजात्रा निकालिन्छ ।
मुख्य रुपमा जनैपूर्णिमाको भोलिपल्ट दिवंगत व्यक्तिको सम्झनामा नेवार समुदायको घर-घरबाट गाईजात्रा निकाल्ने परम्परा छ । अन्य दिनमा भने घिनताङ घिसी नाच र व्यंग्य प्रस्तुत गरेर गाईजात्रा मनाइन्छ ।
गाईजात्राको अन्तिम दिन श्रीकृष्ण जन्माष्टमीमा भैरव मन्दिरमा नेवारी पोशाक हाकुपटासी लगाएर लामबद्ध महिलाले टोल-टोल घुमेर बत्ती दिने, विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि गाईजात्रा सम्पन्न हुने परम्परा छ ।