ससुरालीबाट घर हिँडेका नवदम्पति मोटरसाइकलसहित बेपत्ता

छोरा बुहारीको अवस्था पता लगाइ दिन वृद्ध पिताको आग्रह

४ साउन ०७४ राजविराज । ससुराली गएका छोरा बुहारी वेपत्ता भएको भन्दै सप्तरीको महादेवा गाउँपालिका १ पकरी बस्ने ६० बर्षीय लुराइ महमदले बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

गत असार २६ गते बेलुका ८ बजेदेखि बेपता भएका ३० वर्षीय छोरा फुल महमद र २५ वर्षीया बुहारी पाकिजा खातुनको आफ्नै स्तरबाट खोजतलास गर्दा पनि कहीँ कतै फेला नपरेपछि लुराइ महमदले प्रहरीमा उजुरी दिएका हुन ।

बुधबार प्रहरीमा उजुरी दिएका उनले गत असार २१ गते स ८ प २५४४ नम्बरको बजाज डिस्कोभर मोटरसाइकल लिएर छोरा बुहारी जिल्लाको कुशहा गाउँपालिकास्थित ससुराली घर पुगेको सञ्चारकर्मीहरुलाई बताए । उनले भने, ‘५ दिनसम्म निरन्तर मोवाइल सम्पर्कमा थिए, तर असार २६ गते बेलुका ८ ब्जेदेखि सम्पर्क विच्छेद भएको छ ।’

छोराले प्रयोग गर्ने मोवाइलको स्विचअफ रहेको उनको भनाइ छ । उनले असार २६ गते राती ९ बजेतिर छोराको ससुराली पक्षलाई फोन सम्पर्क गर्दा एक घण्टा अघि नै फुल महमद र पाकिजा मोटर साइकल लिएर घर जादैछु भन्दै हिँडिसकेको जानकारी गराएको बताएका छन् । तर ३० किलोमिटरको मात्र बाटो भएपनि अबेर रातीसम्म छोरा बुहारी फर्की नआएपछि चिन्तित बनेका परिवारजनले भोलि पल्टैदेखि आफन्तको सहयोगमा खोजतलास शुरु गरेको थियो ।

उनले आफूहरुले गरेको प्रयास असफल भएपछि खोजतलासका लागि प्रहरीको शरणमा पुगेको बताए । फुल महमदको ३ महिना अघि मात्र पकिजासँग मुस्लिम धार्मिक विधिअनुसार विवाह गरेका हुन् ।

तपाइको मत