छ महिना अघिदेखि सञ्चालनमा निःशुल्क शव वहान, मलामी बस र एम्बुलेन्स सेवा 

वैकल्पिक शक्तिको सस्तो लोकप्रियता – शंकर पोखरेल

१८ साउन ०८०, बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नयाँ र वैकल्पिक शक्तिको नाममा सस्तो लोकप्रियताको राजनीति गरेको बताएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नयाँ र वैकल्पिक शक्ति बनाउने नाममा भोटको सस्तो राजनीति गरेको बताएका हुन् ।

‘नयाँ र वैकल्पिक शक्ति बनाउछौं भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनु पर्दछ,’ पोखरेलले आफनो सामाजिक सञ्जालमा लेखेका छन, ‘तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो ।’

रवि लामिछानेले सुरु गरेको निःशुल्क महिला बस सेवा

चितवनबाट आफू निर्वाचित भएको एकसय दिन पुगेको भन्दै रास्वपाका सभापति लामिछानेले बुधबार चितवनमा महिलाहरुका लागि निःशुल्क ब्लु बस उद्घाटन गरेका थिए ।

लामिछाने उक्त ब्लु बस भरतपुर महानगरपालिकाको बाइपासस्थित पार्टीको सचिवालयबाट चढेर सेवाको सुरुवात गरेका छन् । ब्लु बस नाम राखिएको बस निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न रुटमा चल्नेछ ।

६ महिना अघिदेखि सञ्चालन थियो निःशुल्क शव वहान, मलामी बस र एम्बुलेन्स सेवा

तर, विगत ६ महिना अघिदेखिनै नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघसम्बद्ध अखिल नेपाल यातायात मजदुर संघले शव वहान, मलामी बस र एम्बुलेन्स सेवा निःशुल्क सञ्चालन गर्दै आइरहेको छ ।

अखिल नेपाल यातायात मजदुर संघले भने सबैलाई निःशुल्क सेवा दिँदै आइरहेको भएपनि रवि लामिछानेले जस्तो प्रचारवाजी गरेको थिएन । जब लामिछानेले सञ्चालन गरेको ब्लु बस बारे राष्ट्रिय सञ्चारमाध्यमले समाचार बनाए त्यसपछि यातायात मजदुरद्वारा आफ्नै खर्चमा सञ्चालन गरेको निःशुल्क यातायात सेवाको समेत स्थानीय अनलाइनको समाचार र सामाजिक सञ्जालको प्रचार सामग्री बनेको थियो ।

अखिल नेपाल यातायात मजदुर संघले सञ्चालन गरेको निःशुल्क यातायात सेवा

अखिल नेपाल यातायात मजदुर संघका विराटनगर महानगरपालिका–१ निवासी करिम अन्सारीले ६ महिना अघिदेखि सञ्चालनमा ल्याएको निःशुल्क मलामी बसले अहिलेसम्म ५० घरपरिवारका सदस्यको मृत्यु हुँदा मलामीहरुलाई घाटसम्म ल्याउने र लैजाने सेवा दिइसकेको छ ।

यसैबीच अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष दिपक केसीले आफूहरुले सेवालाई स्टन्टका रुपमा, विज्ञापनका रुपमा प्रचार नगरिएको बताए ।

अध्यक्ष केसीले भने, “माओवादी केन्द्र निकट अखिल नेपाल यातायात मजदुर संघ मोरङ्गले सर्वसाधारण, असहाय, सबैका लागि निःशुल्क शव वाहन, निःशुल्क एम्बुलेन्स, निःशुल्क मलामी बस सञ्चालन गरेकाे ६ महिना भयो । यस अवधिमा सयौं सर्वसाधारणलाई सेवा दिइसकेको छ, तर हामीले त्यसको नत स्टन्ट गर्यौं ? नत प्रचार-प्रसार गरियो, सस्तो लोकप्रियताका लागि केही मान्छेले चितवनतिर आफूलाई हिरोका रुपमा प्रस्तुत गर्दैछन् रे ! जुन बेठीक छ, सेवा दिनेले विज्ञापन गर्दै गर्दैन । विज्ञापन गर्नेहरु सेवा दिने नाममा आफ्नो स्वार्थसिद्ध गर्न लागेका हुन्छन् । विज्ञापन र सेवा अलग विषय हो । सबैले बुझ्नै पर्दछ ।”

अखिल नेपाल यातायात मजदुर संघले मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा, कटहरी, ग्रामथान, जहदा, वर्जु क्षेत्रभित्रका जनतालाई निःशुल्क शव वाहन, निःशुल्क एम्बुलेन्स, निःशुल्क मलामी बस सेवा दिँदै आइरहेको छ ।