ह्याक गरी विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने क्रममा !

काठमाडौं । एनआइसी एसियाबाट बैंकको कारोबार प्रणालीमा ह्याक गरी विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने क्रममा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण भएको रु ४० करोडभन्दा बढी रकम फिर्ता हुने क्रममा रहेको हो ।

ह्याकरले विदेशका विभिन्न छ मुलुकका आठ बैंकमा रकम सारेको थियो । बैंकले प्रयोग गर्दै आएको स्वीफ्ट प्रणालीमा ह्याक गरी रकम स्थानान्तरण गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भने, ‘केन्द्रीय बैंकमार्फत तत् देशका बैंकलाई नेपालबाट स्थानान्तरण भएको रकम फिर्ता गर्न पहल गरिएको छ । एनआइसी एसिया बैंकले पनि रकम फिर्ता गर्न पहल गरिरहेको छ ।’

राष्ट्र बैंकले सूचना प्रविधिलाई विशेष ध्यान दिन सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै आएको सहप्रवक्ता पण्डितले पुनः स्मरण गराए ।

सोमबार राष्ट्र बैंकले सबै बैंकका सूचना प्रविधि विभागका प्रमुखलाई बोलाएर निर्देशन दिएको थियो ।

तपाइको मत