१९ भदौ ०७८, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ ‘अन्टुफ’ले हिंसा र दुर्व्यवहार रोक्न सरकारले आइएलओ अभिसन्धि नं. १९० अनुमोदन गर्नुपर्नेमा जोड दिएको छ ।
शनिबार आइएलओको सहकार्यमा महासंघले राजधानीमा आयोजना गरेको एकदिने कार्यक्रममा अन्टुफ अध्यक्ष जगत सिम्खडाले यस्तो बताएका हुन् ।
बागमती प्रदेश सभा सदस्य समेत रहेका अन्टुफ अध्यक्ष सिम्खडाले भने, “श्रमिकले काम गर्ने कार्यस्थललाई मर्यादित बनाउन सरकारले आइएलओ अभिसन्धि नं. १९० अनुमोदन गर्नुपर्दछ किनभने यसले महिला हिंसाका सवाल मात्रै नभएर सबैखाले हिंसा र दुर्व्यवहार अन्त्य गर्ने विषयलाई समेटेको छ । जस्तो: कतिपय स्थानमा पुरुषबाट महिला हिंसामा परेका होलान् । कैयन अवस्थामा महिलाबाट पुरुष पनि हिंसामा परेका होलान् । कतिपय प्रतिष्ठानमा रोजगारदाताबाट श्रमिक र केही स्थानमा श्रमिकबाटै रोजगारदाता पनि हिंसामा परेको हुनसक्छ ।”
यस्तै उक्त कार्यक्रममा आइएलओका प्रतिनिधि कृपा बस्नेतले हिंसा र दुर्व्यवहार रोकथाम र उन्मूलनको महत्व र नेपाली श्रम बजारमा यसको उपयोगिताका बारेमा सहभागीहरुलाई बताएका थिए ।
बस्नेतले हिंसा र दुर्व्यवहार बारे प्रष्ट पार्दै नेपाल सरकारले आइएलओ अभिसन्धि नं. १९० अनुमोदन गर्न ढिलाई गर्न नहुने बताए ।
यसैगरी अन्टुफ उपाध्यक्ष उषा देवकोटाले महिलाविरुद्ध हुने हिंसा र यौन दुर्व्यवहार अन्त्यका लागि विद्यमान कानूनको पूर्णपालना गर्दै सबैखाले हिंसा रोक्न आइएलओ अभिसन्धि नं. १९० अनुमोदन गर्नु पर्नेमा जोड दिइन् ।
अन्टुफ उपाध्यक्ष धनबहादुर विकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महासंघका उपाध्यक्ष एसबी थापा, उपमहासचिवद्वय बिष्णु कुमारी थापा, राजकुमार लामा, सचिवद्वय नरहरी नाथ योगी, सोम तामाङको आतिथ्यता रहेको थियोे भने कार्यक्रमको सञ्चालन कार्यवाहक महासचिव शालिकराम काफ्लेले गरेका थिए ।
सो कार्यक्रममा अन्टुफ प्रदेश १ का अध्यक्ष टीकाराम प्रसाईं, प्रदेश २ का अध्यक्ष अर्जुन चिमरिया, बागमती प्रदेश अध्यक्ष शिव पोखरेल, गण्डकी प्रदेश अध्यक्ष रूद्र गौतम, लुम्बिनी प्रदेश अध्यक्ष दानबहादुर वलीको सहभागिता रहेको थियोे ।
यसैगरी पेशागत संगठनका अध्यक्षहरू माधव पाण्डे, भुम बहादुर रेग्मी, भेषराज दाहाल, रामचन्द्र कार्की, लक्ष्मीप्रसाद ढकाल, संगिता बानियाँ, निशा खरेल, धनु दाहाल, राजन पाण्डे, अमित लामा, रमेश केसी, राजन काफ्ले, रामचन्द्र ढुङ्गाना, कुमार पन्त, चक्र खत्री, मुक्ति दास, मातृका कोइराला, दुर्गा खतिवडा, पदम दाहाल, सुजन गिरी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।