हामी मजदुर मात्रै होइनौं, सार्वभौम देशका स्वाधीन नागरिक पनि हौं – अन्टुफ उपाध्यक्ष कार्की

अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष जय बहादुर कार्कीसँग हाकाहाकी प्रतिनिधिले ट्रेड युनियन आन्दोलन र समसामयिक विषयमा गरेको कुराकानीको सम्पादित अंश…

जय बहादुर कार्की, उपाध्यक्ष अन्टुफ ।

पूँजीपति, दलाल, रोजगारदाताहरूले ऐन कानुनको गलत व्याख्या गर्न थाले

पछिल्लो समय ट्रेड युनियन आन्दोलनले गति लिएको देखिन्छ । राष्ट्रियरुपमा होस् वा अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलन समाजवादको दिशामा उन्मुख रहेको छ । यद्यपि, पूँजीपति, दलाल (श्रम आपूर्तिकर्ता), रोजगारदाताहरू मजदुरका मागहरूलाई सम्बोधन गर्नुभन्दा रोजगारीबाटै बिमुख गराउन उद्दत रहेको देखिन्छ । उनीहरूले मजदुरमैत्री हुनुभन्दा मजदुरप्रति अनुदार बन्ने, निजीकरणलाई बढवा दिँदै ऐन कानुनको गलत व्याख्या र प्रयोग गर्न थालेका छन् ।

पूँजीपतिहरुले श्रमिकमाथि आफ्नो वर्चस्व र एकाधिकार कायम राख्न कानुनी छिद्रलाई दुरुपयोग गरेर अघि बढिरहेको भए पनि उदारवाद र निजीकरणका विरुद्ध, साम्राज्यवाद, भ्रष्टाचारी, पुरानो व्यवस्था र रुढिवादी पार्टीविरुद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय औधोगिक प्रतिष्ठान र कलकारखानाहरुमा कार्यरत आम मजदुरहरू आफूहरुमाथि भइरहेका सबैखाले शोषणविरुद्ध उठ्न थालेका छन् ।

हालै भारतमा भएको मजदुर आन्दोलन होस् वा ल्याटिन अमेरिका, इरान, लेवनान लगायत देशहरूमा भएका श्रमिक/मजदुरहरूको आन्दोलनले श्रम क्षेत्रमा रहेका चरमशोषणको अन्त्य गरी मजदुरमैत्री श्रम ऐन, सुरक्षित कार्यस्थाल निर्माण, समान कामको समान ज्याला साथै निजीकरण, उदारीकरण, मजदुर कटौती, मजदुर निष्काशन, समय सापेक्ष बेतनबृद्धि, सामाजिक सुरक्षा, ट्रेड युनियन अधिकार साथै राजनैतिक अधिकार लगायत मागहरु अहिले पनि जोडदाररुपमा उठाइरहेका छन् ।

आम मजदुरहरुले श्रम कानुनलाई मजदुर विरोधी हुनेगरी संशोधन नगर्न, साम्प्रादायिक आधारमा बिखण्डन गर्ने अदूरदर्शी गतिविधि बन्द गर्न, अनौपाचारिक क्षेत्रमा कार्यरत मजदुरहरुको न्यूनतम बेतन र सुविधा तोक्न, सबै क्षेत्रमा सामाजिक सुरक्षा ऐन लागू गर्न, निजीकरण बन्द गर्न, बढदो बेरोजगारीको अन्त्य गर्न माग गरिरहेका छन् । तर, सम्बन्धित र सरकोकारवाला निकाय मौन रहेको देखिन्छ ।

स्थापनाकालदेखि नै मजदुरको आशा र भरोशाको केन्द्र अन्टुफ

हाम्रो संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) स्थापनाकालदेखि नै नेपाली श्रमजीवी मजदुरको आशा र भरोशाको केन्द्र बन्न सफल संगठन हो । जुन आन्दोलनको बलमा सिर्जित भएको हो । पूर्वमाओवादी र पूर्व एमाले पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै ‘अन्टुफ’ केही स्वार्थभिरुहरूका कारण गत्यावरोधमा रह्यो । तर, महासंघको इन्चार्जमा जयपुरी घर्ती साथै अध्यक्ष जगत सिम्खडा बनिसकेपछि अन्टुफले फड्को मारेको छ । हामीले संगठनलाई भ्रष्टाचारमुक्त, चुस्त, व्यवस्थितसहितको सुद्धृढ गराउँदै छौं । त्यतिमात्रै होइन् हामीले श्रम ऐन ०७४ का मजदुरविरोधी दफाहरूको संशोधनका लागि दवाव दिन र ती दफाहरुबारे मजदुरलाई जानकारी गराउन सफल भएका छौं । यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनका लागि रोजगारदाता र सरकारलाई घच्घच्याउने कामहरू भएका छन् । साथै, अब उप्रान्त यसबाट सरोकारवाला र सम्बन्धित निकायले मौनता प्रदर्शन गरिरहे मजदुरहरुसँग आन्दोलनको विकल्प छैन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)मा समेत श्रम ऐनका मजदुरविरोधी दफालाई ठोस गरिएको छ । यो नेपाली ट्रेड युनियनहरूको साझा मुद्दा भएको छ । यही सवालमा केही मजदुरले आफ्नो अधिकार प्राप्ति गर्नेतिरभन्दा पनि संगठनले फरक दिशा लियो कि भनेर चिन्ता गरेको समेत देखिन्छ । चिन्ता स्वभाविक छ तर यसलाई छिचोलेर अगाडि नबढ्दासम्म आम श्रमजीवी मजदुरवर्गले शोषणबाट उन्मुक्ति पाउने देखिन्नँ । यसकारण पनि ऐनमा रहेका नकारात्मक विषयलाई आममजदुरका बीच उजागर गरिनु पर्दछ । र, अन्टुफ त्यस दिशामा रहेको छ ।

यतिबेला अन्टुफले के विषय ल्याउँछ भनेर नेपाली ट्रेड युनियन र आम श्रमजीवी मजदुरहरुले चासोका साथ हेरिरहेका छन् । किनभने, हाम्रो संगठनको मूल नेतृत्वमा जगत सिम्खडा आइसकेपछि अन्टुफले आम मजदुरका हक अधिकारका लागि उठाएका सवालहरु राष्ट्रिय महत्व र आम मजदुरका चासोका विषयहरु बनेका छन् ।

ट्रेड युनियनकर्मीहरुले देशी–विदेशी गोष्ठीलाई संगठनको मुख्य काम बनाए

पछिल्ला वर्षहरुमा नेपाली ट्रेड युनियनकर्मीहरुले देशी–विदेशी गोष्ठी र कार्यक्रमहरुलाई संगठनको मुख्य काम बनाएर अल्मलिएको देखिन्छ । तर, हाम्रो महासंघले यतिबेला श्रमजीवी मजदुरका विषयलाई प्राथमिकतामा राखेर ती कार्यक्रमलाई सहायक बनाएको छ । एउटा सर्कल तयार पार्ने र त्यसैको वरिपरि मात्र घुमेर कार्यक्रमहरु गर्ने, विभिन्न शीर्षकमा भत्ता खाने परम्परा र संस्कृति साथै आर्थिक अपारदर्शितालाई तोडेर सबै काम कारवाही संस्थागत गर्दै एकढिक्का भएर अघि बढिरहेको छ ।

यतिबेला अखिल नेपाल ट्रेड युनियन महासंघको नेतृत्व कार्यवाहकका रुपमा रहेकाले तुरुन्तै विशेष राष्ट्रिय भेला वा सम्मेलन गरेर कार्यकारी अध्यक्ष बनाएर लैजाने दिशामा महासंघका सबै तहका कमिटी र नेतृत्वहरु एक भएर लाग्नु जरुरी छ । यो अन्टुफ–जिफन्टको एकताका लागि पनि अपरिहार्य छ ।

अन्टुफ-जिफन्ट एकता  ६०/४० प्रतिशतका आधारमा

यस्तै अन्टुफ–जिफन्टको एकतालाई जतिसक्दो चाँडो सम्मानजनक टुङ्गोमा पु-याउनु पर्दछ । एकतामा अन्टुफको विरासतलाई अग्रस्थानमा राखेर आम मजदुरमा रहेको अन्टुफको विश्वास र वर्चस्वलाई केन्द्रविन्दु मान्दै अन्टुफ ६० र जिफन्ट ४० प्रतिशतका आधारमा एकता हुनुपर्दछ । नत्र, यसप्रकार सम्मानजनक एकता नहुँदा यही विषय दीर्घरोग बन्नसक्छ ।

अन्तमा, नेपाली ट्रेड युनियन र नेपाली श्रमिकहरूले अहिलेकै अवस्थामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र सीमा अतिक्रमणका विषयमा आवाज बुलन्द गर्नुपर्दछ । किनभने, यो हाम्रो राष्ट्रिय स्वाधीनता र सार्वभौम सत्ताका विषय हुन् । हामी मजदुर मात्रै होइनौं, सार्वभौम देशका स्वाधीन नागरिक पनि हौं भन्ने बिर्सनु हुँदैन् ।