२२ साउन ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तथा संठगन विभाग प्रमुख राम बहादुर थापा ‘बादल’ले मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालको औचित्य नसकिएको बताएका छन् ।
शनिबार राजधानीमा बसेको मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय पदाधिकारीको बैठकमा नेता बादलले राजनीतिक, आर्थिक साथै साँस्कृतिक लगायत राज्यबाट प्राप्त हक अधिकार पूर्णरुपमा स्थापित नभएसम्म मोर्चाको औचित्य समाप्त नहुने बताएका हुन् ।
नेता बादलले राष्ट्रिय मुक्ति आन्दोलन एउटा उचाईसम्म आए पनि राष्ट्रिय (जातीय) मुक्ति आन्दोलन पूर्ण नभएको बताए । उनले भने, ‘जातीय मुक्ति आन्दोलन एउटा उचाईमा आएको भए पनि पूर्ण भएको छैन् । त्यसैले संघर्षलाई जारी राख्नु पर्दछ ।’
माओवादीले उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गको हक अधिकारका प्राप्तिका लागि संघर्ष गरे पनि स्थानीय तहको निर्वाचनमा वर्ग, जाति, क्षेत्र र लिङ्गविरोधी काँग्रेस–एमाले हावी भएको भन्दै नेता बादलले माओवादीको आफ्नै सही एजेण्डा जनतामा पु¥याउन नसक्नु र नेता–कार्यकर्तामा बैचारिक विचलन आउनु मुख्य समस्या भएको बताए ।
नेता बादलले भने, ‘हामीले एजेण्डा स्थापित गरेर पनि स्वामित्व लिन सकेनौं, हामीले थोकमा बेच्यौं तर मार्केटिङ्ग गर्न सकेनौं ।’
काँग्रेस र एमालेले जित्नुका पछाडि उनीहरुको सेटिङ्ग
यसैगरी कार्यालय सदस्य तथा ५ नम्बर प्रदेश ईन्चार्ज वर्षमान पुन ‘अनन्त’ले स्थानीय तहको निर्वाचनमा काँग्रेस र एमालेले जित्नुका पछाडि उनीहरुको सेटिङ्गका साथै सामाजिक व्यक्तित्व, जनआधार र पैसा भएको बताए ।
उनले माओवादीको बैचारिक र राजनैनिक अस्पष्टताको फाइदा उठाउँदै काँग्रेस–एमालेले वुर्जुवा चुनावमा जित निकालेको बताए । साथै, अब पार्टी, जबस र मोर्चाहरुले बैचारिक र राजनैनिक स्पष्टता गरेर जानु पर्ने बताए ।
स्थानीय तहको मत परिणामले एमाले र काँग्रेस तर्सिए
यसैगरी बैठकमा आदिवासी जनजाति राष्ट्रिय महासंघका महासचिव सुरेश आले मगरले स्थानीय तहको मत परिणामले एमाले र काँग्रेस तर्सिएको बताएका छन् ।
उनले काँग्रस–एमालेबाट स्थानीय तहको निर्वाचनमा जित्ने अधिकांश आदिवासी जनजाति भएकाले ती पार्टी तर्सिएको बताएका हुन् ।
महासचिव आले मगरले तनहुँको म्याग्दे गाउँपालिकाको उदारण दिँदै १० वटा पालिकामा दुई वटा पालिकामा मात्रै एमाले र काँग्रेसबाट खस आर्यले जितेको भन्दै बाँकी ८ वटा पालिका जनजातिले जितेको बताए । साथै, उनले माओवादीको एजेण्डामा वर्गविरोधी पार्टी पनि हिँड्नु परेको भन्दै अब एजेण्डालाई जनताको तहमा पु¥याउन आवश्यक भएको बताए ।
मोर्चाका अध्यक्ष सुदर्शन बराल मगरको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षाका साथै राष्ट्रिय सम्मेलनबारे छलफल भएको थियो ।