२१ फागुन, कैलाली । पदस्थापनाको विषयलाई लिएर स्वस्थ्यकर्मीहरूले आन्दोलन गरेका कारण कैलालीमा शनिबार र आइतबारका लागि तय भएको पोलियो खोप कार्यक्रम स्थागित भएको छ ।
आन्दोलनका कारण पोलियोसँगै जापानीज ईन्सेफलाईटिक(जेई) खोप लगाउने कार्यक्रम पनि स्थगित गर्नु परेको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप सुपरभाईजर प्रदीप जोशीले बताए । यस अघि फागुन ७ र ८ गते गर्ने भनिएको खोप शनिबार र आइतबारका लागि सारिएको थियो ।
नेपाललाई सन् २०१० मा नै पोलियो उन्मुलन घोषणा गरिए पनि भारतमा रोगको संक्रमण देखिएका कारण तराईको जिल्लामा फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले कैलालीसहित तराईका १२ र काठमाडौं उपत्यकाका तीन गरी १५ जिल्लामा पोलियो खोप कार्यक्रम सञ्चालन गर्न लागेको थियो ।
कैलालीमा पाँच वर्षमुनिका एक लाख १६ हजार ८ सय ४६ बालबालिकालाई खोप कार्यक्रममा सहभागि गराउने लक्ष्य राखिएको थियो ।
स्वास्थ्यकर्मिहरुको आन्दोलनका कारण पोलियो खोप अभियानमा असर पर्न सक्ने भन्दै पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिएको बरिष्ठ जनस्वास्थ्य प्रशासक टंक प्रसाद चापागाईले बताए ।