सेक्युरिटी शाखाको बैठक सम्पन्न, सेक्युरिटी मजदुरसँग माओवादी अभियान सञ्चालन गरिने

२८ पुस ०८१, काठमाडौं । नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश, मजदुर महाशाखा अन्तर्गत सेक्युरिटी शाखा ‘क’ र ‘ख’ को संयुक्त बैठक सम्पन्न भएको छ ।

आइतबार शाखा ‘ख’का अध्यक्ष नारायण कुइँकेलको अध्यक्षता र शाखा ‘क’का अध्यक्ष रमेश नेपालको सञ्चालनमा बसेको बैठकले “सेक्युरिटी श्रमिकसँग माओवादी अभियान” सञ्चालन गर्ने लगायत समसामयिक सांगठनिक निर्णयहरू गरेको छ ।

शाखा ‘क’का अध्यक्ष रमेश नेपालले दिएको जानकारी अनुसार दुबै शाखाले माघ महिनाभित्र उपशाखाहरु गठन गरिसक्नेछ । साथै, पुस २१–२३ बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले लिएको निर्णयअनुरुप वैचारिक, राजनीतिक तथा सांगठनिक कार्यहरु गरिनेछ ।

उक्त संयुक्त बैठक पेरिसडाँडा कोटेश्वरमा उपत्यका विशेष प्रदेशका सहसचिव एसबी थापामगरको प्रमुख आतिथ्य र मजदुर महाशाखाका उपाध्यक्ष खगेन्द्र धिमालको विशेष आतिथ्यमा बसेको थियो ।

यस्तै शनिबार बिहान सेक्युरिटी शाखा ‘ग’ र ‘घ’ को संयुक्त बैठक शाखा ‘ग’का अध्यक्ष प्रेम राईको अध्यक्षता र शाखा ‘घ’का अध्यक्ष टीका थापाको सञ्चालनमा बसेको थियो ।

शाखा ‘ग’ र ‘घ’ को बैठकले सत्तारुढ दलका जनविरोधी कार्यहरुको भण्डाफोर गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि “सेक्युरिटी मजदुरसँग माओवादी केन्द्र अभियान” सञ्चालन गर्ने लगायत सामयिक सांगठनिक निर्णयहरू गरेको सेक्युरिटी शाखा ‘घ’का अध्यक्ष टीका थापाले जानकारी दिए ।