२ मंसिर ०७८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य लिलामणि पौडेलले जनयुद्धलाई अपराधीकरण गर्न लागेकाहरुको भण्डाफोर गर्दै पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् ।
बिहीबार मजदुर विशेष जिल्ला समन्वय समिति सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा सपथपछि सम्बोधन गर्दै स्थायी समिति सदस्य पौडेलले यस्तो बताएका हुन् ।
“तत्कालीन एमाले र माओवादी एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आवश्यकताले निर्माण भएको थियो । तर केपी शर्मा ओलीको स्वेच्छाचारिता, अहंकारले सीमा नाघेपछि, पार्टीभित्र सिद्धान्तमै विमति रहेपछि पार्टी विभाजन भयो,” उनले भने ।
“अदालतले पार्टी दुईवटा बनाइसकेपछि ओली प्रवृत्तिलाई परास्त गर्दै हामी संगठन निर्माणको प्रक्रियामा लागेका छौं,” स्थायी समिति सदस्य पौडेलले भने, “जनयुद्धलाई अपराधीकरण गर्न लागेका यिनीहरुको भण्डाफोर गर्दै स्खलित आन्दोलन उठाउन विचार निर्माणसहित उत्पीडित वर्गले भरोसा गर्ने नेता बन्न र संगठन बनाउने गरी लाग्न सबैलाई आग्रह गर्दछु ।”