भेनेजुएला यात्रा संस्मरण : समाजवादी नेतृ ग्लोरियासित जम्काभेट

जय कार्की, उपाध्यक्ष अखिल नेपाल ट्रेड युनियन महासंघ

भेनेजुएला यात्रा संस्मरण :

  • भेनेजुएलामा पहिला निरंकुश सत्ता थियो । त्यो सत्तालाई हाम्रा राजनेता ह्युगो चाभेजले उलटपुलट पारिदिनु भयो । अब यो देशमा जनताको सत्ता छ । नवउदारबाद र पुँजीवाद विरुद्धको राज्यसत्ता हो यो ।
  • अहिले हाम्रो देशमा आर्थिक नाकाबन्दी लगाएको छ, साम्राज्यावादी अमेरिकाले । तर, हामी आर्थिक नाकाबन्दी झेल्न सफल हुनेछौं ।
  • देशमा समाजवादी सरकार छ । हामी सबै त्यसको भागीदार हौं ।
  • हामी सबैले अहोरात्र मेहनत गरेर यति ठूलो अन्तर्राष्ट्रिय ऐक्यबद्धता अभियानलाई सफल पारेका छौं । यसमा महिला र पुरुष साथीहरुको बराबरीको भूमिका रहेको छ ।
  • महिला अधिकारका विषयमा यहाँ अब कुनै समस्या छैन् । सबै क्षेत्रमा बराबरीको अवसर प्राप्त छ । तपाई आफैँले पनि देख्नुभएको छ ।
  • अहिले हाम्रो राष्ट्रपति निकोलस मदुरो हुनुहुन्छ । उहाँलाई ध्वस्त पार्न र समाजवादलाई सिध्याउन साम्राज्यावदीहरु जोडदारले लागिरहेका छन्, गलत र दिग्भ्रमित प्रचार गरिरहेका छन् ।

काठमाडौं । जनवरी २४ को ३ बजेको समयमा काराकासको पार्कमा साम्राज्यवाद विरुद्धको अन्तर्राष्ट्रिय ऐक्यवद्धता समारोह राष्ट्रपति निकोलस मदुरोले विधिवतरुपमा समापन सम्बोधन गरेसँगै सकिएपछि म र रोबेर्तो लगायत साथीहरू फेरि कार्यक्रम आयोजना गरिएको स्थलमा फिर्ता भयौं ।

साँस्कृतिक कार्यक्रमसहितको समापन समारोह भएकाले विधिवत् समापन झण्डै तीन घण्टाजति समय लागेको थियो । मुख्य सडकको दुबैतिर अनेकौं प्रकारका स्थानीय उत्पादनको प्रदर्शनी राखिएका थिए भने नाचगान भाषण धेरै ठाउँमा चलिरहेको थियो ।

रोबेर्तो र म अवलोकन गर्दै बेकरी आईटम भएको पसलमा पुग्यौं । बिक्री हुन बाँकी रहेका तीन–चार पिस सामान्य (कम गुणस्तर)को पेष्ट्री बाँकी थियो तर उक्त पेष्ट्रीको मूल्य आश्चर्यचकित पार्ने खालको थियो अर्थात् ५५ हजार लिरा मतलब लिराकोे भ्यालू नै शून्य बराबर रहेछ ।

मूल समारोह स्थलमा चार्ज गरिदिन अनुरोध गर्दै छाडेको मेरो फोन हरायो । कारण त्यहाँ प्रदर्शनीमा राखिएका अनेकौं स्टलमध्ये मूल समारोह समपानसँगै अबेस स्याटेलाईट स्टल चाहिँ बन्द भइसकेछ र उनीहरू सामान प्याकअप गरी आफ्नो बाटो लागि सकेछन् ।

फोन हराएको कुरा मैले मार्कोस र रेडियो सञ्चार प्रमुखलाई भने उहाँहरूले ‘आत्तिनु पर्दैन, भेटिन्छ’ भन्नुभयो । सामान्य खोजबिन भयो तर पत्ता लागेन् । कारण उनीहरु धेरै टाढाबाट आएकाले चाँडै बन्द गरेर हिँडेछन । तर हामीबीच राम्रो चिनजान भइसकेको थियो । स्याटलाईटबारे मलाई केही सूचनामूलक सामाग्रीसहित इमेल ठेगानासहित सामूहिक फोटो खिचेर मेरो मेलमा पठाइसकेका थिए भने उनी (एन्द्रेस) फेसबुकमा पनि जोडिसकेका थिए । तर फोन हराएपछि सबै सूचना सम्पर्क ठप्प भयो । खासमा युरोप र नेपालमा प्रयोग गरिने चार्जर त्यहाँ कतैपनि नमिलेकाले यो समस्या आइलागेको थियो ।

मैले भने, ‘मेरो फोन चोरी भएको होइन्, म ढिलो आएकाले स्टल बन्द भएकोले मलाई हस्तान्तण गर्न नपाएका हुन् । फेरि, मेरो फोन नयाँ पनि होइन, सामान्य भए पनि त्यसमा कार्यक्रमको फोटो र भिजुअलहरु रहेकाले मेरो लागि महत्वपूर्ण छ’ भन्ने कुरा राखेँ ।

‘मार्कोसले भने जसरी पनि पत्ता लगाउनु पर्छ तपाई निश्चिन्त हुनुहोस्’ भने र मलाई गुप्तचर विभागमा लिएर गए । त्यहाँ मेरो सामान्य परिचय गराउँदै ‘उहाँको फोन पत्ता लगाउनु प¥यो’ भने । प्रहरीका हाकिमले ‘पत्ता लाग्छ तर त्यतिन्जेलको लागि आराम गरेर बस्नुहोस्’ भने ।

त्यो समयको उपयोग गर्दै हामीले विविध विषयमा छलफल ग¥यौं । रामायण, महाभारत, बुद्ध दर्शन, दशवर्ष लामो जनयुद्ध, दुईवटा जनआन्दोलन, नेपालको वर्तमानको दुई तिहाई नजिक रहेको बहुमत रहेको समाजवाद उन्मुख कम्युनिष्ट सरकार, राजतन्त्रको पतन, ट्रेड युनियन आन्दोलन, महिला मुक्ति आन्दोलन, राष्ट्रियताको आन्दोलन, भेनेजुएलाको विगत र वर्तमान अवस्था, सिमोन बोलिभार, मिराण्डा, देशकोे आयश्रोत तथा देशको भौगोलिक अवस्था, भेनेजुएलाका छिमेकी देशहरु र उनीहरुको अवस्था, भेनेजुयलामा पहिरो र एटलान्टिक महासागरको तुफानले पु¥याउने क्षति र पहाडी भागको पहिरोको खतरा र बर्षेनीको जनधनको खतरा, आदिवासी जनताको अवस्था प्रहरी र सेनाको संरचना तथा सेनाको समर्थन बारे । र, धर्म र संस्कृति जस्ता विषयमा झण्डै ३ घन्टाभन्दा बढी कुराकानी गरेका थियौं ।

त्योभन्दा अलग विषय थियो विश्व सुन्दरी प्रतियोगितामा भेनेजुएलाको सहभागिता र त्यसलाई हेर्ने दृष्टिकोणका बारेमा । किनकी, भेनेजुएलाले धेरैवटा विश्व सुन्दरी जन्माएको छ र त्यो विषयमा गर्व पनि गर्छ । तर, अहिले त्यस्तो अवस्था छैन् रहेछ समाज परिवर्तनसँगै त्यसप्रतिको आकर्षण घटेको रहेछ । धारणा पनि परिवर्तन भइसकेको रहेछ । हाम्रो देशमा भने सुन्दरी प्रतियोगिताप्रति झन् मरिहत्ते गर्न थालिएको छ ।
यस्तै छलफल भइरहेको अवस्थामा मेरो फोन पत्ता लागेको सूचना हामीलाई दिइयो ।

‘बल्ल फोन पत्ता लाग्यो भोलि १० बजे फोन तपाईंको हात पर्छ’ भने गुप्तचरका प्रहरीले ।

मभन्दा बढी मार्कोस खुुशी भए मिस्टर याय (जय कार्कीको ‘ज’ लाई उनीहरु ‘य’ भन्दछन् ‘ज’ भन्नै जान्दैन रहेछ) ‘कार्की फोन भेटियो बधाई छ’ भने । गुप्तचरका सबै स्टाफ ३० वर्ष नकटेका युवा युवतीहरु थिए । समाजवादी सरकारले पुरानोलाई फेर्दै नयाँ भर्ति गरेका युवा पिंढी हुनुपर्छ उनीहरु भन्ने लाग्यो ।

हाम्रोमा भने पुरानै सोच र पुरानै संयन्त्र हाम्रो देशमा मोटापाका, जुङ्गा तिलचामले र उमेर धेरै खाएकालाई अनुभव प्राप्त भनिन्छ तर ती युवायुवतीहरु सबै विज्ञ पो रहेछन् ।

एक दिनको घटना हो, काठमाडौंमा छोरीले जन्म दिनको उपहार ल्याइदिएको आईफोन सेभेन बेलुकीपख बोलाएको अन्टुफको बैठकमा जाँदा टेम्पोमा गायब भयो । धेरै दिनसम्म साह्रै चिन्ता लाग्यो । खोजी गरेँ, उजुरी गर्न टेलिफोन अफिसमा गएर सल्लाह लिएँ उजुरी नगर्दा हुन्छ आईफोनहरु सिधै भारत पठाईसक्छन सम्भावना छैन् भन्ने सल्लाह पाएको थिएँ त्यतिबेला ।

त्यसकारण उजुरी गरिन मैले । फेरि दुई महिनापछि जेटियुसीसी श्रम संसदबाट फर्किदै गर्दा अर्को पटक मोवाइल हरायो । फोन गरेँ तर केही समयपछि फोन स्विचअफ गरिहाल्यो । हाम्रो देशमा फोन फर्काउने संस्कृति नै छैन् । स्विचअफ गरेर लुकाई हाल्छन् । यो पनि चोरकाइदा र नैतिकहीनताको पाराकाष्टा नै हो ।

साथीहरुले उजुरी गर कि गर भन्दै थिए तर गरिनँ । भेटिन्छ भन्ने विश्वासै भएन । यसपटक पटक भने मलाई खास चिन्ता पनि लागेन तर फोनको खाँचो त परिगयो । फोन पनि ठीकैको थियो तर फोटोको लागि नामुद क्वालिटीको थियो सामसुङको फोन ।

फोन पत्ता लाग्यो आज रातको दश बजिसक्यो भोलि हातपर्छ भन्ने खबर पाएपछि हामी पाहुनाहरुलाई व्यवस्था गरेको आरामदायी बसमा विभिन्न देशका अतिथिहरुकासाथ होटल प्रेसिडेन्ट फर्कियौं । बसमा कोही गीत गाएका गाइरहेका छन, कोही साम्राज्यवादविरुद्ध नारा घन्काई रहेका छन, कोही भिजिटिङ कार्ड आदान प्रदान गर्दैछन, कोही चाभेज चाभेज भनी कुर्लिरहेका छन, केही जोडी युवायुवतीहरु मायाप्रीतिमा गाढा भएकाझैं लपक्कै टाँसिएर आलिंगनमा बेरिएका थिए । यहाँ यसको कुुनै असामान्य अर्थ लाग्दैन । सहज हो, घुलमिल हो बास । त्यसो नगरे रिसाउलान भन्ने खतरा । हाम्रो रीतिरिवाजमा किस र आलिँगन अनिवार्य छ तँ मलाई किस पनि नगर्ने भनेर एकजना आयोजक महिला कामरेडले दुई पटक किस गर्न लगाईन् तर पछि उनले ‘तैँले किस गरेको भएन’ भनिन । जबकि मेरो बानी नै छैन् ।

होटलमा पुगेपछि केहीबेरको आराम र सामान्य खानपिन पश्चात् बारको ठूलो हलमा साल्सा डान्स शुरुवात भयो । सबैले थकाई मार्ने उद्देश्यकासाथ सानो–सानो सोलेरा बियर पिउन थाले । महिला र पुरुषको कुनै भेदभाव नगरी सबैले पिए, नपिउने महिला थिएनन् । समाजवादी नेतृ तथा अमेरिकी राष्ट्रपतिको उम्मेदवार इभा ग्लोरिया, बहिनी रेक्वुईना, म र रोबेर्तो गार्सिया यतिमात्र चोखा थियौं । उनीहरुले अनेकौं जोडी बनाएर झण्डै तीन घण्टा नाचे । हामी सबै भोलि बिहानदेखि नै भेनेजुएलाबाट बिदा हुँदै थियौं । त्यसकारण पनि यो बिदाई कार्यक्रम थियो ।

मित्र मार्कोसले पनि खुब नाचे फरक फरक महिलाहरुसित । उनीसित मैले प्रहरी गुप्तचर विभागमा ३ घण्टाको बातचितको अवधिमा नै साल्सा डान्स बारे कुरा गर्दा म पनि साल्सा डान्सको राम्रो डान्सर हुँ । हाम्रो राष्ट्रपति पनि निक्कै राम्रो नाच्नुहुन्छ, चाभेज पनि जनताको माझमा नाच्न खुब मनपराउनु हुन्थ्यो भनी नाचेर देखाउने बाचा गरेका थिए उनले । हाम्रो देशमा भने अध्यक्ष प्रचण्ड कमरेड र अभिनेत्री रेखा थापा नाच्दा झण्डै बबालै गरे एकथरी जमातले ।

बास्तवमा समापन समारोहमा गीत गाउने चर्चित गायिकाको (उनको नाम बिर्सिएँ सँगै फोटो पनि खिचेका थियौं उनको नाम भि.. बाट सुरुभएको थियो) गीतको भाव भङ्गीमा र गीतको शब्दहरुको विषयमा त्यही दुई घण्टा भन्दा नि लामो छलफलको क्रममा मैले चर्चा गरेको थिएँ ।

ती गायिकाले गाढा रातो टी शर्ट (क्रान्तिको चिनो यहाँ धेरै जसोले रातो शर्ट, क्याप, वा राष्ट्रियता झल्किने रातो ट्रयाक सर्ट लगाउँछन्) खुलै राखेकी थिइन भने भित्रपट्टि कसिलो बाहुले कालो भेष्ट लगाएकी थिइन् उनले ।

उनले चारवटा प्रगतिवादी गीत गाएकी थिइन् र गीतसँगै साल्सा डान्सको सामान्य स्टेपमा अलि अलि नाचेकी थिइन् । त्यो नाच र गीतले सिङ्गो माहोल नै नाच्ने र गीत गाउने र नारा चाभिस्ता चाभिस्ता भनी लगाउने गथ्र्यो । उनले गीत गाउँदा अलिकति महिलाको अलिकति पुरुषको जस्तो अनौठो मिश्रित स्वर निकाल्थिन् । गीत गाएको तालमा बेला मौकामा यस्सो तिघ्रा ठटाउँदै अलिकति अघि अलिकति पछि सर्ने गर्थिन् ।

तर, त्यो कुनै भव्य रङ्गमन्च थिएन, सानो साँघुरो दर्शक दीर्घा बस्ने ठाउँ भन्दा होचो र राष्ट्रपति बसेको भन्दा दायाँपट्टि सामान्य ठाउँ थियो । त्यहीँ साना साना नानीहरुले भव्य साल्सा डान्स प्रदर्शन गरे । मैैले चाहिँ उनलाई तेश्रो लिङ्गी भएको ठहर गरेँ । तर पछि मूल सडक क्रस गर्ने बेलामा अचानक भेट भयो, बाटोमा भेटेर कुरा गर्दा मसिनो स्वर भएकी महिला नै रहिछन् । त्यहीबेला रोबेर्तोले सम्झनाको लागि भनी हाम्रो सामूहिक फोटो पनि खिचे ।

मैले साल्सा डान्समा सबै मस्त रहेकै बेलामा इभा ग्लोरियालाई विभिन्न समूहसित मेरै नजिक बातचित गर्दै गरेको देखेँ । म अलमलमा परेँ । मैले यिनको थुप्रै रचनाहरु धेरै अघिदेखि पढ्दै आएको छु । लिबरेशन पिएसएल अनलाइनमा र थुप्रै रचनाहरु कपि गरेर उनको परिचय खुल्ने गरी रिपोष्ट पनि गरिसकेको थिएँ । महिला अधिकार र समाजवादसम्बन्धी थुप्रै पुस्तकहरु उनको पहलमा प्रकाशन भएको छ । डोनाल्ड ट्रम्पको विरुद्धमा यिनले राष्ट्रपतिको उम्मेदवारी पनि दावा गरेकी थिइन् ।

म अक्मकिएँ । परिचय गर्ने हिम्मत बटुल्न सकिनँ । तर, यिनी पक्कै इभा ग्लोरिया नै हुन भन्ने मलाई लागिरह्यो । उनी समापन समारोहमा राष्ट्रपतिसँगै बसेकी थिइन् । कसैलाई पनि आसन ग्रहण गराउँदा नामबाट सम्बोधन गरिएको थिएन । त्यसकारण यी महिला राष्ट्रपतिको आमा हुन् कि भनी अन्दाज गरेको थिएँ ।

निक्कै अबेर भइसकेको थियो रातको एक बजे हामी आ–आफनो रुमतिर लाग्यौं । उनी, म र अरु आठजना एकैचोटीसँगै लिफ्टमा चढयौं अरु झर्दै गए शुभरात्री भन्दै गए तर दशौं तलामा पुग्दा हामी दुई जनामात्र बाँकी रह्यौं र लिफ्टबाट निस्क्यौं । अनि मैले शुभरात्री भन्दै सोधें तपाई कहाँबाट हो, तपाईलाई मैले लेखहरुमा तपाईको फोटो पक्कै पनि देखेको छु, लिबरेशन पिएसएलमा भनेँ ।

उनले ‘मेरो नाम इभा ग्लोरिया हो । म अमेरिकाबाट आएको अनि तपाईं नि !’ भन्नुभयो ‘म नेपालबाट हो, ट्रेड युनियनको तर्फबाट यहाँ सहभागी हुन आएको हुँ’ भन्दै ‘रुम बाहिर उभिएरै तपाईंको कम से कम एक दर्जनभन्दा बढी रचना पढेको छु, शेयर गरेको छु अनि कम्युनिष्ट अनलाइनमा तपाईंको महत्वपूर्ण रचनाहरु रिपोष्ट पनि गरेको छु’ भनेँ ।

उनी ज्यादै खुशी हुँदै धन्यवाद दिइन । आफू समजावादको लागि संघर्षरत रहेको र स्पेनिस भाषालाई अझ गहिरो गरी सिकिरहेको पनि बताइन । उनको उमेर ७० देखि ७५ वर्षको हुनुपर्छ । उनी रुम नम्बर १००५ मा रहिछन् । म रुम १००३ मा थिएँ । उनी भेनेजुएलाप्रति ऐक्यबद्धता जनाउँदै भेनेजुएलाको समाजवादको पक्षमा अन्तर्राष्ट्रि«य प्रचारप्रसारका लागि १७ पटक आएकी रहिछन् । साम्राज्यवादी अमेरिकी हस्तक्षेपविरुद्धमा अमेरिकामा नै ठूलो अभियान चलाइरहेकी उर्जावान महिला रहिछन् । अमेरिकामा समाजवादी पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार पनि रहिछन् । भोलि भेटेर थुप्रै कुरा गर्नुपर्छ भनेकी थिइन् । तर, हामी सबैलाई बेलैमा पुनः कार्यक्रम स्थलबाट बिदाई गर्ने आयोजकको योजनाले गर्दा भेट गर्न सम्भव भएन ।

रमाइलो कुरा त के भने त्यहाँ अनेकौं संयन्त्र प्रयोग गरी मेरो फोन हात पारिछाडेँ दुई, दिन लगाएर भए पनि म छक्क परेँ । भोलिपल्ट कार्यक्रम स्थलको काउन्टरमा नै सुरक्षामा बसेका सेनाका साथीले पासपोर्ट माग्दै मलाई फोन दिंदै सामान्य सोधपुछसहित कुनै फोटो मेटेको छ कि, केही चलाएको छ कि, राम्ररी चेक गर्नुस भने । मेलै हेरेँ चेक गरें ठीक छ भनेपछि सही गराई पासपोर्टको नम्बर टिपेर हस्ताक्षर गर्दै फोन हस्तान्तरण गर्दै ‘ग्रासिया’ भने ।

मैले मित्र मार्कोसलाई मेरो देशमा त हराएपछि त भेटिन्नँ उजुरी लिन पनि अस्विकार गर्छन्, सहयोगी भूमिका खेल्नुको सट्टा झर्को र फर्को गर्छन् भनेँ ।

यहाँ अलिक फरक छ नभेट्टाउने भन्ने कुरा त बिरलै हुन्छ भनी हाँस्दै जवाफ फर्काए ।

मैले साल्सा डान्स र गफगाफकै क्रममा जसलाई हाम्रो सिङ्गो जिम्मेवारी सुम्पिएको थियो । हामीसँगै थियौं तर उनी अंग्रेजी तातो भुत्लो केही बुझ्दैन थिइन । उनको नाम रेक्वुना हो । क्यानाडाली मित्र रोबेर्टो गार्सिया जसले मलाई ‘के छ नेपाल’ भन्थे । उनकै मद्धतले भेनेजुएलाको महिलाहरुको जनजीवनबारे स्पेनिस भाषामा उल्था गरी सोध्न लगाएँ । उनले भनेको कुरा उनले फेरि मलाई अंगे्रजी बताइदिँदा कुरा प्रष्ट भयो ।

१) भेनेजुएलामा पहिला निरंकुश सत्ता थियो । झण्डै ८० प्रतिशत जनता गरिब थिए । त्यो सत्तालाई हाम्रा राजनेता ह्युगो चाभेजले उलटपुलट पारिदिनु भयो । अब यो देशमा जनताको सत्ता छ । गरिब जनताहरुको पक्षको सरकार छ । निरंकुश सत्ताको ठीक उल्टो सरकार होे, यो । यहाँ चाभिस्ता लागू भएको छ । त्योे भनेको २१ औं शताब्दीको समाजवाद हो । यसमा बिकासको मोडल नै फरक छ । नवउदारबाद र पुँजीवाद विरुद्धको राज्यसत्ता हो यो ।

२) आम जनताले देश निर्माणको लागि भाग लिइरहेका छन । देशको रक्षाको लागि हामी ३ करोड जनता युद्ध मैदानमा जान तयार छौं । मातृभूमिको रक्षा गरिछाड्छौं । अहिले हाम्रो देशमा आर्थिक नाकाबन्दी लगाएको छ, साम्राज्यावादी अमेरिकाले । त्यसकारण जनजीवन केही कष्टकर छ । तर हामी आर्थिक नाकाबन्दी झेल्न सफल हुनेछौं हामीले क्युबाबाट सिकेका छौं ।

३) ह्युगो चाभेजले हामीलाई धेरै कुरा सिकाउनु भएको छ । हामी उनैप्रति समर्पित छौं । देशमा समाजवादी सरकार छ । हामी सबै त्यसको भागीदार हौं ।

४) हामी सबैले अहोरात्र मेहनत गरेर यति ठूलो अन्तर्राष्ट्रिय ऐक्यबद्धता अभियानलाई सफल पारेका छौं । हामी महिनौंदेखि एकदम कम सुतेका छौं । किनकि, अनेकौं षडयन्त्रलाई चिर्दै हामीले साम्राज्यवाद विरोधी यति विशाल कार्यक्रम सफल पार्नु थियो । यसमा महिला र पुरुष साथीहरुको बराबरीको भूमिका रहेको छ ।

५) महिला अधिकारका विषयमा यहाँ अब कुनै समस्या छैन् । सबै क्षेत्रमा बराबरीको अवसर प्राप्त छ । तपाई आफैँले पनि देख्नुभएको छ । सर्वत्र बराबरीको उपस्थिति रहेको छ । हो, अलिकति अझै पनि रुढीबादको अन्त्य गर्न सकिएको छैन । अन्धविश्वासको अन्त्य गर्न अझै समय लाग्न सक्दछ ।

६) आज हामीले जे जति अधिकार प्राप्त गरेका छौं त्यो सबै ह्युगो चाभेजको देन हो । भेनेजुएलामा धनी र गरिबको जुन भयानक खाडल थियो । त्यो पुर्ने काम उनैले गरेका हुन । अहिले हाम्रो राष्ट्रपति निकोलस मदुरो हुनुहुन्छ । उहाँलाई ध्वस्त पार्न र समाजवादलाई सिध्याउन साम्राज्यावदीहरु जोडदारले लागिरहेका छन्, गलत र दिग्भ्रमित प्रचार गरिरहेका छन् ।

यो सबैलाई हामी चकनाचुर पार्नेछौं समाजवाद र हाम्रो देशको सार्वभौमिकतालाई जोगाई राख्नेछौं । महिला अधिकारका विषयमा हामी कुनैपनि हालतमा कमजोर छैनौँ ।

हुन पनि हो सुरक्षा लगायत सबै क्षेत्रमा महिलाहरुले बराबरीको जिम्मेवारी सम्हालिरहेका थिए । थरिथरिका हातहतियारले सुसज्जित महिला सुरक्षाकर्मी देखिन्थे । कतिपयको हाईट पाँच फुट पनि थिएन होला तर ती सबै हतियारले सुसज्जित थिए । तर नेपालमा भने १० वर्ष जनयुद्ध लडेका तालिम प्राप्त राता सिपाहीहरु छात्ती र उचाई नाप्ता अयोग्य साबित भएका थिए । अवस्था कस्तो फरक फरक !
रोजगारीबाट कोही पनि नछुटुन भनेर हो कि जस्तो लाग्यो, सबैलाई सानै उमेरदेखि कुनै न रोजगारीमा सरकारले भर्ना गरेको देखियो । अधिकांशको भेषभुषा सामान्य नै छ । कुनै तडकभडक देखिँदैन ।

हो, एकथरी महिलाहरुको जिउडाल अत्यन्तै असाधारण खालको देखिन्छ । कुनै साँचोमा हालेर मनपरेको ढाँचामा ढालेको जस्तो । यो बारेमा मैले मार्कोसलाई सोधेको थिएँ उनले हाँस्तै भनेका थिए, “यहाँ एकथरी यस्तो जातका मानिसहरु छन उनीहरुको शरीरको बनावट नै जन्मजात नै त्यस्तो हुन्छ । त्यो आकर्षणलाई देखेर कतिपयले सर्जरी समेत गरेर त्यस्तै बनाएका हुन्छन, जसरी चिनियाँ महिलाहरुले आफूलाई सधैँ सुन्दर र फिट देखाउन आम्दानीको ५० प्रतिशत सौन्दर्य प्रसाधनमा खर्च गर्दछन् ।”