१५ जेठ ०७७, काठमाडौं । सरकारले “नेपालको पानी, जनताको लगानी अभियान” अन्तर्गत जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७७/७८को बजेट प्रस्तुत गर्दै “नेपालको पानी जनताको लगानी अभियान” अन्तर्गत आगामी आर्थिक वर्ष माथिल्लो अरुण, किमाथाङ्का अरुण, खुर्कोट कर्णाली, तामाकोशी पाँच, चैनपुर, सेती, जगदुल्ला लगायतका जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने बताएका हुन् ।
यस्तै बुढीगण्डकी, पश्चिम सेती, कर्णाली चिसापानी, उत्तरगंगा आँधिखोला, नौमुरे बहुद्देशीय आयोजना कार्यान्वयनमा ल्याइने बताए ।
यसैगरी झापाको अनारमणिदेखि कञ्चनपुरको महेन्द्रनगरसम्म, लप्सीफेँदी–रातमाटे–हेटौडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल तथा ढल्केवर–मजफ्फपुर ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य अगाडि बढाइने समेत उनले बताएका छन् ।
उनले बजेट प्रस्तुत गर्नेक्रममा बुटवल–गोरखपुर, लम्की–बरेली र गल्छी–केरुङ खण्डको निमार्ण आरम्भ गरिने पनि बताए ।
सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ कराेड रुपियाँकाे बजेट विनियोजन गरेको छ ।