११ चैत ०७६, राजविराज । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट बच्न मंगलबारबाट देशभर ‘लक डाउन’ गरेको छ ।
सरकारको आदेशअनुसार सप्तरी सदरमुकाम राजविराजसहित १८ वटै स्थानीय तहका बजारहरु पूर्णरुपमा बन्द भएका छन् भने बजारमा मानिसहरुको आवत–जावत, सवारीसाधन समेत बन्द भएका छन् ।
जिल्लामा सुरक्षाकर्मीहरुको व्यापक परिचालन गरिएको छ भने ईमर्जेन्सी सेवामा चलेका सवारी साधनलाई समेत सुरक्षाकर्मीहरुले रोकेर सोधपुछ गरेर मात्र जान दिएका छन् । केही पैदल हिँडेकालाई प्रहरीले सम्झाई बुझाई नहिँड्न सुझाएको छ ।
सरकारले एक हप्ताका लागि आदेश गरेको ‘लक डाउन’ अनुसार सप्तरीबासी सचेत भएर होम क्वारेन्टाइनमा बसेका छन् ।
छिन्नमस्ता शक्तिपीठमा पूजाआजा गर्न रोक
सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा पीठाधीश महाकान्त ठाकुरले सूचना जारी गर्दै देशैभरि कोरोना भाइरस (कोभिड–१९)को त्रास रहेको भन्दै स्थिति सामान्य नभएसम्मका लागि शक्तिपीठमा भक्तजनलाई पूजाआजामा रोक लगाएका छन् ।
ठाकुरका अनुसार कोरोनाको संक्रमणबाट बच्न अत्यावश्यक वाहेकका सबै सेवा बन्द भएकाले शक्तिपीठमा भक्तजनको भीडभाडमा कोरोनाको जोखिम हुने भएकोले पूजा बन्द गरिएको छ ।
यस अघि छिन्नमस्ता शक्तिपीठमा भक्तजनलाई मन्दिर प्रवेशद्वारमै स्वास्थ्य परीक्षण तथा साबुन पानीले हात धुन अनिवार्य गरिएको थियो ।