जसपाका नेता भट्टराईकाे प्रश्न : संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ?

२२ जेठ ०७८, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको कसरी घाँटी जाेडियाे भन्दै सवाल उठाएका छन् ।

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाकाे ठाकुर-महताे समूहलाई समेटेर सरकार पुनर्गठन गरेसँगै नेता भट्टराईले ट्विटमार्फत् अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? भन्ने यक्ष प्रश्न उठाएका हुन् ।

“संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाॅटी कसरी जोडियो ?,” एमाले अध्यक्ष ओली र जसपाका राजेन्द्र महताे र महन्थ ठाकुरको मुकुण्डो उत्रिएकाे भन्दै उनले प्रश्न गरेका छन्, “अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ?”

नेता भट्टराईले यक्ष प्रश्न उठाउँदै लेखेका छन्, “नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाॅ जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त ?”