संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो – प्रचण्ड

२४ बैशाख ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता रहेको बताएका छन् ।

आइतबार गोरखापत्र दैनिकको १२३ औँ तथा गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका अवसरमा आयोजित आठौं राष्ट्रिय पत्रकारिता दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकारिताको संलग्नताविना आजको राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव नरहेको बताएका हुन् ।

२००७ कै संघर्षको बीचबाट रेडियो प्रसारणको नयाँ प्रयोग पनि सुरु भएको बताउँदै उनले भने, “राणाविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलनहुँदै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनसम्म नेपाली पत्रकारिताले राजनीतिक आन्दोलनको मुख्य सहयोगीको रुपमा आफूलाई उभ्यायो । नेपालमा गणतन्त्र स्थापना गर्नुपर्छ भनेर संस्थागतरुपमा नै जागरणमूलक अभियान सञ्चालन गरेको नेपाली पत्रकारिता क्षेत्र पनि संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार हो, जसको संलग्नताविना यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न संभव थिएन ।”

विसं १९५८ वैशाख २४ गते नेपाली भाषाको पहिलो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको दिनको स्मरणमा गत आठ वर्षदेखि हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ ।