श्रमिकको भाग्य र भविश्यमाथि खेलवाड नगर्न अन्टुफको चेतावनी

७ साउन ०७८, काठमाडौं । नेपालका ठूला ट्रेड युनियनहरुको छाता संगठन “संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)”काे अध्यक्ष समेत रहेका अन्टुफ अध्यक्ष जगत सिम्खडाले मजदुरको भविष्य र सपना असफल गराउन केही संघ–संस्था र व्यक्तिहरू योजनाबद्धरुपमा लागेको भन्दै त्यस्तो नगर्न, नगराउन चेतावनी दिएको छ ।

श्रमिकहरूले निकै लामो संघर्ष र बलिदानपछि प्राप्त गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई असफल गराउन केही बैंक बित्तीय संस्थाका संचालकहरुको उक्साहटमा मजदुरका नाममा ह्वाइट कलरका मान्छेहरू लागेको भन्दै अध्यक्ष सिम्खडाले श्रमिकको भाग्य र भविश्यमाथि खेलवाड नगर्न चेतावनी दिएको हो ।

बागमती प्रदेश सभा सदस्य समेत रहेका अन्टुफ अध्यक्ष जगत बहादुर सिम्खडाले श्रम क्षेत्र र सामाजिक सुरक्षा योजनाप्रति भ्रम सिर्जना गर्ने उद्देश्यले केही बैंक बित्तीय संस्थाका मालिकहरूले विद्यमान ऐन, कानुनविपरीत कार्य गरिरहेको भन्दै अखिल नेपाल ट्रेड युनियन महासंघको ध्यानाकर्षण भएको जनाएका हुन् ।

बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै अध्यक्ष सिम्खडाले भनेका छन्, “श्रमिकको सुखी र समृद्ध जीवनसँग जोडिएको सामाजिक सुरक्षामा जाँदा सुविधा कटौती हुने जस्तो भ्रम फैलाई कानुन कार्यान्वयनमा आउन नदिने उद्देश्यले बैंक तथा बित्तिय संस्थामा कार्यरत व्यक्तिहरु अदालत गएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

सामाजिक सुरक्षामा जाँदा श्रमिकले खाईपाई आएको कुनै पनि सुविधा नघट्ने विषयलाई श्रमिक र उनीहरुसित आश्रित परिवारको बिरामी स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा तथा आश्रृत परिवार सुरक्षा योजना संचालन गर्न नदिने र सामाजिक सुरक्षा योजनालाई नै भत्काउने र ऐन कार्यान्वयनमा अवरोध गर्ने उद्देश्यले केही बैंक बित्तिय संस्थाका केही संचालकहरुको उक्साहटमा सम्पूर्ण नेपाली श्रमिकको भाग्य र भविश्यमाथि खेलवाड हुन गइरहेको भन्दै विज्ञप्तिमा त्यसो नगर्न भनेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन नगर्न, नगराउन केही व्यक्तिले न्याय क्षेत्रलाई समेत प्रभावित गर्ने उद्देश्यले गतिविधि गरिरहेकोप्रति अन्टुफले आम श्रमिकहरुलाई कुनै भ्रममा नपर्न सुझाएको छ ।