२१ साउन ०७८, काठमाडौं । तीन ठूला ट्रेड युनियनको साझा संस्था ‘अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ–नेपाल आवद्ध परिषद’ (आइटीयुसी-न्याक) ले व्यवसाय दर्ता नवीकरण गर्दा सामाजिक सुरक्षा कोषमा सूचीकृतको निस्सा अनिवार्य गर्नुपर्ने बताएको छ ।
माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ, एमाले निकट नेपाल ट्रेड युनियन महासंघ र काँग्रेसनिकट नेपाल ट्रेड युनियन कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गरेर सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका र आवद्ध भएर योगदान रकम जम्मा नगर्ने रोजगारदातालाई कानुनको दायरामा ल्याउन सूचीकृतको निस्सा अनिवार्य गर्नुपर्ने बताएको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षाको विकल्प नरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘जति बढी सामाजिक सुरक्षा त्यति बढी श्रम लचकता भन्ने ट्रेड यूनियनहरूको मान्यताले सहकार्य र सामाजिक संवादमा जोड दिन्छ । आज पनि हामी त्यही सहकार्य र संवादको पक्षमा छौ ।’
यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुँदा खाईपाई आएको सेवा सुविधा कटौती हुने अफवाह फैलाइएको भन्दै सामाजिक सुरक्षा ऐन २०७४ अनुसार श्रमिकको योगदान कट्टा गर्ने तर सामाजिक सुरक्षा कोषमा सूचीकृत नगर्ने प्रवृत्ति बढिरहेकाले यसलाई रोक्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।
‘कुनै पनि सेवा सुविधा कटौती गर्न नपाईने सुनिश्चितता श्रम ऐन २०७४ को दफा ३४ को उपदफा ३ तथा दफा १७८ को ३ ले गरेको छ । कानून अनुसार मान्यता प्राप्त ट्रेड यूनियन वा श्रमिकले चुनेका प्रतिनिधिहरुले श्रम ऐन २०७४ अनुसार हरेक दुई वर्षमा आफु कार्यरत प्रतिष्ठानमा मागदावी र सम्झौता गर्न सक्ने व्यवस्था छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कानून अनुसार प्राप्त सेवा सुविधा सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा कम हुने वा कटौती हुन्छ भन्नु श्रमिक पक्षीय लोक कल्याणकारी कार्यक्रमसँग मेल खाँदैन, प्रमाणित हुन सक्दैन त्यसकारण यस्तो प्रचारको पक्षमा नलाग्न सवै श्रमिक साथीहरुलाई आग्रह गर्न चाहान्छौं ।’
यस्तै सबै प्रकारका उद्योग, फर्म, कम्पनी, सेवा तथा व्यवसायको दर्ता प्रमाण पत्र नवीकरण गर्दा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भई योगदान गरेको निस्सा अनिवार्य पेश गर्ने व्यवस्था मिलाउन समेत विज्ञप्तिमा भनिएको छ ।