५ बैशाख ०७५, तनहुँ । लोपोन्मुख जातिका ७० वर्षीय राजामामा कुसुण्डाको निधन भएको छ ।
बुधबार बिहान व्यास नगरपालिका १० डिहिगाउँ स्थित आफ्नै घरको आँगनमा एक्कासि ढलेका राजामामाको केही बेरपछि निधन भएको हो । उनी लामो समयदेखि प्रेसरको बिरामी थिए ।
पवित्र मादी र सेती घाटमा पु¥याइएको बाबुका पार्थिव शरीरमा १० वर्षीय छोरी सिमान्तले दागबत्ती दिएकी छन् । घाटमा लाने बेला उनको शवमा प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले समेत काँध थापेका थिए ।
उनको पार्थिव शरीरमा नेपाल आदिवासी जनजाति समन्वय परिषद्का सल्लाहकार यामबहादुर आले र जिल्ला अध्यक्ष वसुन्धरा घर्तीले जनजातिको झण्डा ओढाएका थिए ।
जंगलमा बस्दै आएका राजामामा कुसुन्डा परिवारलाई नेपाल आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानले संरक्षण गर्दै आएको थियो । व्यास ११ डिहीगाउँमा प्रतिष्ठानले एक रोपनी जग्गा किनेर आवास समेत निर्माण गरेको छ । त्यही आवसमा राजमामा कुसुण्डाको परिवार बस्दै आएका छन् ।
लोपउन्मुख जातिको रुपमा सूचीकृत राजामामा कुसुण्डाको निधनले ठूलो क्षती पुगेको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिले जनाएको छ ।
कुसण्डा भाषा संस्कृति संरक्षणमा राजामामाको योगदान महत्वपूर्ण थियो । उहाँलाई नै आधार मानेर कुसुण्डा भाषाको कितावमा राजामामालाई नै ‘रेफरेन्स’ राखिएको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँका पूर्व अध्यक्ष हरिसिंह गुरुङले बताए ।