२८ साउन ०७८, बुटवल । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ मुख्यमन्त्री नियुक्त भएका छन् ।
आफूविरुद्धको अविश्वासको प्र्रस्ताव प्रदेश सभामा पेश भएसँगै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा माओवादी केन्द्रका सोनाम मुख्यमन्त्री बनेका हुन् ।
प्रदेश प्रमुख अमिक शेरचनले २२ घण्टाको समय दिएर संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्तिका आह्वान गरेको थियो भने सो अवधिमा केसीको मात्र मुख्यमन्त्रीमा दाबी परेको थियो ।
प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार नै केसीलाई नियुक्त साथै शपथ गराएका छन् ।
मुख्यमन्त्री केसीले बिहीबार नै ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी ग्रामीण तथा शहरी विकासमन्त्री, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।
जसपा संसदीय दलका नेता सहसराम यादवले भौतिक पूर्वाधारमन्त्री बन्दा यही पार्टीका सांसदद्वय सुमन शर्मा रायमाझी र पुरमती ढेंगा विना विभागीय मन्त्री बनेका छन् । सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका सांसद अजय शाहीले पनि विना विभागीय मन्त्रीको सपथ लिएका छन् ।