लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई नेकपाको निर्देशन !

१९ माघ ०७६, काठमाडौं । राष्ट्रियताको विषयलाई लिएर निकै महत्वका साथ हेरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको दोस्रो बैठकले सरकारलाई नेपालको नयाँ नक्सा लिम्पियाधुरासहितको भूगोल समेटेर जारी गर्न निर्देशन गरेको छ ।

भारतले नेपाली भूमिसमेत समेटेर बनाएको नक्सा अस्वीकार गर्ने सरकारको निर्णयलाई स्वागत गर्दै बैठकले सरकारलाई नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा बनाएर लिम्पियाधुरा, लिपुलेक र कालापानी नयाँ नक्सामा समेटेर जारी गर्न निर्देशन गरेको हो ।

बैठकले एमसीसी र सीमा सम्बन्धमा अर्थपूर्ण निर्णय लिँदै राजनीतिक प्रतिवेदन सर्वसम्मत पास गरेको छ भने सरकारलाई नेपाल ट्रष्टको जग्गाका बारेमा स्वेतपत्र जारी गर्न समेत निर्देशन दिएको छ ।

एमसीसीका सवालमा बैठकले बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदललाई सुझाव पेश गर्न १० दिनको समय दिएको छ भने ट्रष्टको सम्पत्ति क–कसलाई कुन सरकारको पालामा कसरी लिजमा दिएको हो; सबै विवरण स्वेतपत्रमार्फत् सार्वजनिक गर्न ट्रष्टका अध्यक्षसमेत रहेका नेता ईश्वर पोखरेललाई निर्देशन दिएको छ ।

बैठकमा नेताहरुले सम्पत्ति छानविन आयोग गठनको माग गरेपछि अनुशासन आयोगले नै सम्पत्ति छानविन तथा अनुशासन पालना गराउने अध्यक्ष प्रचण्डलाई उदृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।

बैठक समापनसँगै प्रधानमन्त्री ओलीले आज साँझ केन्द्रीय कमिटी बैठकमा आएका केन्द्रीय सदस्य र सांसदहरुलाई रात्रीभोज दिने कार्यक्रम रहेको बताइएको छ ।