३१ बैशाख ०७८, ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले रातो मच्छिन्द्रनाथको रथ यात्रामा हुनसक्ने हुलदंगा तथा अशान्तिलाई मध्यनजर गरेर निषेधित क्षेत्र तोकेको छ ।
शुक्रबार ललितपुर महानगरपालिका क्षेत्रभित्रका केही ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरेर प्रशासनले आदेश दिएको हो ।
ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएको जानकारी अनुसार भोलि शनिबार बिहान ६ बजेदेखि बुधबार राति १० बजेसम्मको लागि उक्त आदेश जारी गरिएको छ ।
प्रशासनले सरोकारवालालाई यस वर्षको रातो मच्छिन्द्रनाथको रथ यात्रा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर जेठ १ गते प्रतिकात्मक रूपमा न्यून सहभागितामा गर्न सम्पन्न आग्रह गरेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी बस्नेतले रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्र, पूर्वमा मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिममा रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिमतर्फको बारुण यन्त्र रहेको स्थान, दक्षिणतर्फ सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड), उत्तरतर्फ लविम मल पश्चिमपट्टीको सडक, श्री मिन नाथको रथ रहेको आसपास क्षेत्र साथै पूर्व– गणेशस्थान मन्दिर, पश्चिम– टबहाल चोक, दक्षिण–ईति चोक र उत्तर–टंगल र चक्रवहिली गल्ली क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको बताए ।