२० बैशाख ०७७, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष बिनोद श्रेष्ठले स्थानीय जनप्रतिनिधिहरुले राहत वितरणमा राजनीति गरेको बताएका छन् ।
एक सय ३१ मई दिवसका अवसरमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
“कोरोना भाइरसको संकटले निम्त्याएको लकडाउनपछि वितरित राहतमा केही स्थानीय जनप्रतिनिधिहरुले कुहिएका अखाद्य वस्तु बाँड्नेदेखि आफ्ना मतदातालाई राहत सामग्री बाँडेर राजनीति गरे” अध्यक्ष श्रेष्ठले भने, “केही जनप्रतिनिधिले राहतमा राजनीति गरे । भोटको खेती पनि गरे ।”
“राहत जो पीडित हो उसलाई दिने हो” भन्दै उनले भोट हालेर जनताले जिताएका जनप्रतिनिधिले भ्रष्टाचार गर्नु अपराध भएको पनि बताए ।
सञ्चारमाध्यममा ट्रेड युनियन र यसका नेतृत्वहरुमाथि लकडाउनका बीचमा धेरै पश्न उठेको बताउँदै उनले लकडाउनपूर्व आफूहरुले सरकारसँग सम्भावित समस्याबारे जानकारी गराएको भन्दै बचाउ समेत गरे ।
“सबैभन्दा आपतविपतमा श्रमिकहरु छन्, यो सही हो । हामीले कोरोना संक्रमण फैलन नदिन लकडाउन घोषणा हुनु अघि चैत्र ६ गते नै सरकारलाई सुझाव दिएका थियौं,” अध्यक्ष श्रेष्ठले भने, “प्रधानमन्त्री र सरोकालवाला मन्त्रालय निकायलाई भन्यौं । त्यसपछि सरकारले चैत ११ देखि लकडाउन गर्ने घोषणा ग¥यो । यस संकटमा श्रमिकहरुको स्वास्थ्य सुरक्षा र व्यवस्थापन गर्ने पहिलो दायित्व सरकारभन्दा पहिले रोजगारदाताको हो । र, सरकारले सही व्यवस्थान गर्नुपर्दछ । हामीले मजदुरका पक्षमा आवाज उठाउने र लड्ने हो, अहिले पनि हामी लडिरहेका छौं ।”
उनले अत्यावश्यक क्षेत्रमा काम गर्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसरफाई लगायत अत्यावश्यक उद्योगमा काम गर्ने श्रमिकहरुप्रति जजसले तलब दिएको छ, उसैले सर्वप्रथम श्रमिकहरुको व्यवस्थापन गर्नु पर्नेमा जोड दिँदै उनीहरुले नसकेको अवस्थामा सरकारलाई भन्नु पर्ने बताए ।
कोरोनाले साहु र मजदुर, धनी र गरिब, पत्रकार र गैरपत्रकार, काँग्रेस र कम्युनिष्ट, महिला र पुरुष, कर्णाली र बागमती केही नभन्ने भएकाले सिङ्गो मानवजाति एक भएर कोरोनालाई जित्नु पर्ने भन्दै अध्यक्ष श्रेष्ठले मई दिवसको अवसरमा देश विदेशमा रहेका श्रमिकहरुलाई आआफ्नो स्थानबाट भौतिक दुरी कायम राखेर स्वास्थ्य सुरक्षाको विधि अपनाएर साझा दुश्मन कोरोनाविरुद्ध लड्न आग्रह गरेका छन् ।