राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

२६ पुस ०७४, काठमाडौं ।  निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

बुधबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आयोगमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका आज स्वीकृत गरी सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको तालिका अनुसार सबै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० देखि ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रियसभा सदस्य निर्वाचनमा २ हजार ५६ जनाले मतदान गर्न पाउनेछन् । मतदान सकिएकै दिन दिउँसो ४ बजेबाट मतगणना सुरु गरिने आयोगले जनाएको छ ।

कार्यतालिका अनुसार

माघ ७ गते निर्वाचन अधिकृतकाे कार्यालयमा मतदाता नामवली प्रकाशन, प्रकाशित नामावली उपर दाबी विरोधको उजुरी दिने ।

माघ ८ र ९ गते उजुरी उपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने ।

माघ १० गते उम्मेदवारको मनोनय पत्र दर्ता गर्ने र मनोनय पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने ।

माघ ११ र १२ उम्मेदवारको विरोधमा उजुरी दिने ।

माघ १३ गते मनोनयनपत्र  र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने ।

माघ १४ र १५ गते मनोनयन  भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने ।

माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने ।

माघ २४ गते मतदान गर्ने ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्थानीय तह अन्तर्गतका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ ।

यस निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५०६ जना तथा प्रदेशसभाका ५५० सदस्य गरी कुल २,०५६ जना मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ । नेपालको संविधान अनुसार, स्थानीय तह र प्रदेशसभा सदस्यबाट राष्ट्रिय सभा सदस्यका लागि ५६ जना निर्वाचित हुने व्यवस्था छ ।

संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित हुने सदस्यको निर्वाचनका लागि प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा एकल सङ्क्रमणीय मत प्रणाली बमोजिम प्रत्येक प्रदेशबाट निर्वाचित हुन आवश्यक पर्ने मत प्राप्त गर्ने तीन महिला,  एक दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक जना र अन्य तीन जना निर्वाचित गर्नुपर्ने व्यवस्था छ ।

आयोगबाट प्रदेशगत रूपमा मतदाता नामावली तयार गरी निर्वाचन अधिकृतको कार्यालयमा पठाइने र दाबी विरोधलगायतका प्रक्रिया सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सञ्चालन गरिने जनाएको छ।

यसैगरी आयोगको आजै बसेको बैठकले राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गर्न, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७४ बमोजिम प्रत्येक प्रदेशमा एक एकजना निर्वाचन अधिकृत नियुक्ति गर्नुपर्ने भएकाले न्याय परिषद् सचिवालयबाट प्राप्त नामावली बमोजिम ७ जना जिल्ला न्याधिशलाई ०७४ पुस २७ देखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै, आयोगले निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा २०७४ पुस २९ गते स्थापना गर्ने निर्णय गरेको प्रवक्ता नवराज ढकालले बताए ।

 

तपाइको मत