मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, भनेँ – प्रधानमन्त्री

२५ असार ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्दै आफूले असार १८ मा दिएको विवादास्पद अभिव्यक्तिलाई कमजोरी भएको बताएका छन् ।

सरदार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले असार १८ मा ‘आफूलाई प्रधानमन्त्री बनाउन उनी धेरैचोटी दिल्ली गएको’ आशयको अभिव्यक्ति दिएपछि यस विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोध गरेपछि प्रधानमन्त्रीले आफ्नो कमजोरी स्वीकार गरेका हुन् ।

एमालेले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्ति जनाउँदै प्रचण्डको राजीनामा माग्दै संघीय संसदको दुबै सदन अवरुद्ध गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले सोमबार संसद बैठकलाई सम्बोधन गर्दै स्पष्टीकरण दिएसँगै संसदको सुचारु भएको छ ।

सोमबार प्रधानमन्त्रीलाई एमाले सांसद गोकुल बास्कोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देनले विवादास्पद अभिव्यक्तिमाथि प्रश्न गरेका थिए भने प्रधानमन्त्रीले कबिर ४८ मिनेट लामो स्पष्टीकरण दिएका थिए ।
‘म त सुरुदेखि स्पष्ट पार्नको लागि पर्खेर बसेको थिएँ । मलाइ थाहा छैन किन संसद अवरुद्ध गरियो ?’ प्रधानमन्त्रीले आफूलाई स्पष्टीकरण दिने मौका समेत नदिई संसद अवरुद्ध गरेर राजीनामा मागेकोप्रति असन्तुष्टि जनाउँदै भने, ‘के मैले यो सम्मानित सदनसमक्ष उभिएर यथार्थ के हो ? मेरो कमजोरी कहाँनेर हो भनेर मैले भन्न पाउनुपर्दैन ? किन तीन दिनसम्म संसद अवरुद्ध गरियो ?’

प्रचण्डले आफ्नो अभिव्यक्ति भावनात्मक मात्र भएको जवाफ दिँदै सरदार प्रितम सिंहसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको र ०६८/०६९ मा जेठी छोरी ज्ञानुलाई क्यान्सरको उपचारका क्रममा दिल्लीस्थित उनकै फ्लाटमा बसेको स्मरण गर्दै भने, ‘उहाँले भनेर प्रधानमन्त्री हुनेवाला पनि थिएन, मैले प्रधानमन्त्री बनाइदिनुस् भन्ने कुरा पनि भएन ।’

प्रचण्डले आफू त्यसदिन प्रधानमन्त्री भएर नभै ज्ञानुको बुबा भएर बोल्न पुगेको बताउँदै भने, ‘यहाँहरु सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु । यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के ? थोरै भावनामा आएँ । मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनेँ ।’