२ फागुन ०७६, काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले देशलाई परिवर्तन गर्न, राज्यसत्ता परिवर्तन गर्न मानसिकतालाई परिवर्तन गर्नु जरुरी रहेको बताएकी छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघका फ्र्याक्सन इन्चार्ज समेत रहेकी सभापति घर्तीले २५औं जनयुद्ध दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) र जनसांस्कृतिक महासंघले आयोजना गरेको शुभकामना तथा सांस्कृतिक कार्यक्रममा राज्यसत्ता परिवर्तन गर्न मानसिकतालाई परिवर्तन गर्नु जरुरी रहेको बताएकी हुन् ।
“सहिद, बेपत्ता, घाइते, अपाङ्गहरूको यो देशको परिवर्तनमा महत्वपूर्ण योगदान रहेको छ” उनले भनिन्,“हामी बाँचेकाहरूले महान् सहिदहरूलाई स्मरण गर्दै जनयुद्धको २५औं दिवसका अवसरमा भन्दछु; मानसिकतालाई परिवर्तन गर्नु जरुरी छ । हाम्रा सोचाई, दृष्टिकोण र बुझाइहरू पुरानै छ ।”
सोचाई, दृष्टिकोण र बुझाइहरू परिवर्तन नहुँदासम्म समाजवादका आधार तयार नहुने भन्दै इन्चार्ज घर्तीले मानसिकता परिवर्तन गर्नुपर्नेमा जोड दिँदै सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न, राजनीतिक परिवर्तन गर्न र हाल कुर्सीमा आसिनहरूलाई समाजवाद उन्मुख गराउन समेत सहिदहरूको ठूलो देन रहेको बताइन् ।
“विगतमा सबैभन्दा बढी भ्रष्टाचारविरोधी कुरा ग-यौं, व्यक्तिवादको विरोध ग-यौं, सबैखाले विभेद र उत्पीडनहरूको विरोध ग-यौं, मुक्तिका कुरा ग-यौं तर आज कम्युनिष्टको नेता कार्यकर्ताको जीवन व्यवहार त्यस्तो देखिँदैन, अब यसलाई व्यवहारमा उतार्नु पर्दछ” इन्चार्ज घर्तीले जोड दिएर भनिन् ।