१५ भदौ ०७८, सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले माधवकुमार नेपालले नयाँ दल दर्ता गरेर ठूलो गल्ती गरेको बताएका छन् ।
एमालेको कर्णाली प्रदेश संयोजक समेत रहेका ज्ञवालीले सुर्खेतमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा माधव नेपालले एमालेकै एजेण्डा र विचार लिएर हिँडिरहेको भन्दै नयाँ दल दर्ता गरेर गल्ती गरेको बताएका हुन् ।
ज्ञवालीले भने, ‘माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गर्नुभएको छ, कुनै दिन गल्तीको महसुस गर्नु हुन्छ । एमालेको एजेण्डा र विचार लिएर उहाँ कहाँ पुग्नु हुन्छ ?”
उनले माधव नेपाललाई वाममोर्चा बनाएर एमाले सिध्याउने प्रयास नगर्न आग्रह पनि गरे ।
तत्कालीन प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पटकपटक प्रतिनिधिसभा विघटन गरेपछि स्पष्ट दुई समूहमा विभाजित एमालेको वरिष्ठ नेताले आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल दर्ता गराएका छन् ।
ज्ञवाली माधव नेपालले नयाँ दल दर्ता गर्नुअघिसम्म नेपाल निकट मानिएका नेता हुन् ।