२० जेठ ०८०, तनहुँ । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति तनहुँले दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
आँबुखैरेनी गाउँपालिकास्थित आँधिमूलमा पार्टीले जिल्लाका १० वटै स्थानीय तहका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिई दुईदिने कार्यक्रम सम्पन्न गरेको हो ।
माओवादी केन्द्रका तनहुँ जिल्ला इन्चार्ज हरिबाहदुर चुमानले पार्टीका कार्यकर्ताबीच लामो समयसम्म अन्तरघुलन पनि नभएकाले जिज्ञासा जगाउँदै बैचारिक अध्ययनशील गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताए ।
उनले भने, “यो प्रशिक्षण कार्यक्रम नेता तथा कार्यकर्ताहरुमा जिज्ञासा जगाउन, अध्ययनशील बनाउन, पार्टी निर्माणका साथै वैचारिक प्रशिक्षक उत्पादन गर्न आयोजना गरिएको हो ।”
यस्तै जिल्ला संयोजक ओमराज आले मदनले जिल्ला पार्टीका विभिन्न तहका नेता कार्यकर्तालाई बैचारिक बनाउन, व्यवहारिक बनाउन साथै पार्टीलाई समयसापेक्ष बनाउन प्रशिक्षण कार्याक्रम सञ्चालन गरिएको बताए । संयोजक आलेले भने, “हाम्रो पार्टीलाई समयसापेक्ष स्पातिलो बनाउनु महत्वपूर्ण कुरा हो ।”
उनले २०६३ सालमा जन्मिएको बालक समेत बालिग भइसकेकाले जनयुद्धको मर्मबोध, गणतन्त्रका निम्ति संघर्ष, जेलनेल हिरासत, हजारौं सहिद, बेपत्तायोद्धाहरुको त्याग र बलिदानीबाट प्राप्त व्यवस्थाबारे बुझाउन जरुरी रहेकाले प्रशिक्षण जरुरी रहेको बताए ।
“आज २०६२/६३ सालमा जन्मेको बालक जो आज युवा भइसकेका छन् वास्तवमा यो जेनेरेसन माओवादी पार्टी सही कि गलत भन्ने अन्यौलमा छन्,” उनले भने, “उनीहरुलाई जयुद्धकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक, समावेशितासहितको व्यवस्था प्राप्त भएको बारे जानकारी गराउँदै समयसापेक्ष प्रविधिसँग जोड्दै क्रान्तिकारी रुपान्तरणका जिल्ला पार्टीले प्रशिक्षण चलाएको हो र आगामी दिनहरुमा पनि प्रशिक्षणलाई निरन्तरता दिइनेछ ।”
जिल्ला पार्टीका सचिव शुक्र चुमानले दुईदिनसम्म चलेको उक्त प्रशिक्षणमा १३ जना प्रशिक्षकले १२ वटा कक्षा र कूल १६ घण्टा समय लिएका साथै १११ जना प्रशिक्षार्थी सहभागी रहेको जानकारी दिए ।
यस्तै कार्यक्रमको अन्त्यमा जिल्ला पार्टी कार्यालय सचिव बसन्त दरैले दुईदिने प्रशिक्षणमा भएका आयव्ययको विवरण प्रस्तुत गरेका थिए ।