काठमाडौं । आज संसारभरका श्रमिक महिलाहरुले ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात् ८ मार्च विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् ।
आम महिलाको मुक्ति र विद्रोहको प्रतीक दिन मार्च ८ को दिनलाई संघीय सांसद एवम् शिक्षा तथा स्वास्थ्य समितिकी सभापति समेत रहेकी जयपुरी घर्तीले कसरी स्मरण गरिरहेकी छन् त ? हाकाहाकीसँगको संक्षिप्त कुराकानीको सम्पादित अंश….।
विशेषगरी मार्च ८ अमेरिकाको सुती कारखानामा काम गर्ने महिलाहरूले १६ घण्टा काम गर्दा पुरुषभन्दा कम ज्याला दिने नीतिविरुद्धमा विद्रोह गरे । त्यसलाई लिएर क्लारा जेटकिन विश्वभरिका श्रमिक महिलाहरूले श्रमिक महिला दिवस मनाउनुपर्छ भनेर यो दिवस मनाउन थालिएको हो । त्यतिबेला समाजवादीहरुले श्रमिक महिला दिवस भनेर मनाउन सुरु गरेका थिए तर पछिल्लो समयमा साम्राज्यवादीहरुले पनि यो दिवसलाई नारी दिवस भनेर मनाउन थाले । यद्यपि, हामीले आज पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भनेर मानिरहेका छौं ।
नेपाली महिलाहरूले आ–आफ्नो क्षेत्रमा श्रम गरिरहेका छन् । तर, घरेलु श्रमिक महिलाहरुको स्थिति आज पनि कष्टप्रद रहेको छ, मूल्यहीन श्रम बेच्न विवश छन् । त्यो मूल्यहीन श्रमलाई मूल्यसहितको श्रम, अधिकारसहितको श्रममा बदल्न जरुरी छ ।
अन्य क्षेत्रमा रोजगारीमा रहेका महिलाहरू समान ज्यालाबाट बञ्चित छन् । यतिबेला मुलुकमा सामन्ती एकात्मक केन्द्रीकृत राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । राज्यको तीनै तहको सरकारमा महिलाहरूको समानुपातिक प्रतिनिधित्वमा जोड दिइएको छ । स्थानीय तहमा प्रमुख र उपप्रमुख मध्ये एकजना महिला हुने सुनिश्चित गरिएको छ । हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वलाई सुनिश्चित गर्न दबाब दिने, संघर्षकारूपमा ८ मार्चलाई मनाउन म सम्पूर्ण महिला दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु ।
दशवर्षको महान् जनयुद्ध र १९ दिने जनआन्दोलन हुँदै आजसम्म आउँदाखेरि ७७ वटै जिल्ला, हिमालदेखि तराई, मेचीदेखि महाकाली, गाउँ सहर सबैतिरका महिलाहरू सचेत र जागरुक भएका छन् । समानता र अधिकारका लागि चेतनाको विकास भएको छ । यस चेतनाको रक्षा, अझ विकास गर्ने र त्यो चेतनाबाट जो उपलब्धि भएको छ (जस्तै: संविधानमा पैतृक सम्पत्तिमाथि समान अधिकार, राज्यसत्तामा ३३ प्रतिशत सहभागिता, आमाको नाममा नागरिकता पाउने प्रावधान जो हामीले उल्लेख गर्न सफल भयौं) लाई संस्थागत गर्ने प्रक्रियामा रहेकाले मार्च ८ का अवसरमा सम्पूर्ण महिलाहरूले हरेक क्षेत्रबाट यस दिवसलाई सङ्घर्ष र उत्सवका रुपमा मनाउनु होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
यसैगरी हामीले जुन उत्पीडित वर्ग, जाति, क्षेत्र लिङ्गको मुद्दा उठाएर जनयुद्ध गर्यौं र सङ्घर्ष गर्यौं; ती मुद्दाहरू अहिले पनि पूर्णतः सम्बोधन भएका छैनन् । जबसम्म अधिकार प्राप्ति हुँदैन् तबसम्म मार्च ८ लाई सङ्घर्षकै दिनका रूपमा मनाउन आग्रह गर्दै पुरानो पितृसत्तात्मक सोच र चिन्तनबाट ग्रस्त भई जो महिलालाई अधिकार दिन चाहन्नन्, महिलाको मुद्दामा सम्बेदनशील बन्दैनन् साथै उत्पीडित जाति, क्षेत्र र महिलाका विषय आउँदा खुम्चिनेहरुविरुद्ध सारतः महिलामाथि हुने सबैखाले शोषण, दमन, हिंसा र असमानताको अन्त्य गर्नका लागि म आफू आफ्नो ठाउँबाट लडिरहने प्रतिबद्धता व्यक्त गर्दै उत्पीडनमा रहेका महिलाहरुलाई सबैखाले उत्पीडनविरुद्ध निरन्तर सङ्घर्षमा अघि बढिरहन विशेष आग्रह गर्दछु ।